स्थानीय निर्वाचन : अर्घाखाँचीमा एमाले घरदैलोमा, गठबन्धन छलफलमा
अर्घाखाँची। स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै अर्घाखाँचीमा चुानावी सरगर्मी सुरु भएको छ। ६ स्थानीय तह रहेको अर्घाखाँचीमा नेतृत्व हत्याउनका लागि राजनीतिक सक्रियता सुरु भएको हो ।
विवेकशील साझा पार्टीका जिल्ला संयोजक पशुपती पाण्डेले छत्रदेव गाउँपालिका प्रमुखमा उम्मेदवारी घोषणा नै गरेर घरदैलो सुरु गरेका छन् भने एमाले भोट माग्दै गाउँ पसेको छ । एमालेले उम्मेद्वारको नाम नलिइ आफ्नााे चुनाव चिह्नमा भोट माग्दै जिल्लाभर घरदैलो गरिरहेको छ।
एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का, चेत्रनारायण आचार्य लगायतका नेताहरू फरक फरक टोली बनाएर एमाले घरदैलोमा लागेको छ।
एमाले घरदैलोमा सक्रिय बनिरहँदा सत्ता गठबन्धन पक्षधर दलहरूको भने आक्रामक प्रचारप्रसार देखिएको छैन। जिल्लामा एमालेविरुद्ध एक भएर चुनावमा जाने सहमति गरेपछि गठबन्धन पक्षधर दलहरूको राजनीतिक गतिविधि कम देखिएको छ। यद्यपि, माओवादी केन्द्रले वडावडामा भेला, छलफल तथा कार्यालय उद्घाटन कार्यक्रम गरिरहेको छ।
कांग्रेस, माओवादी केन्द्र, राष्टिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले तिनै निर्वाचनमा एक भएर जाने सहमति गरे पनि बाँडफाँडको टुंगो नलाग्दा गठबन्धन पक्षधर राजनीतिक दल तीव्र चुनावी कार्यक्रम बाेकेर गाउँ पस्न सकेका छैनन्। तीनै तहकै निर्वाचनको लागि एकमुष्ठ रुपमा सिट बाँडफाँडको तयारीमा गठबन्धन पक्षधर राजनीतिक दलहरु सक्रिय रहेको बुझिएको छ।
आफूहरु एक भएको अवस्थामा अर्घाखाँचीमा सबै स्थानीय तहसहित प्रदेश सभा र संघीय संसदसमेत जित्ने दाबी गठबन्धन पक्षधर दलका नेताहरूको छ । गत स्थानीय निर्वाचनमा एमाले एक्लैले जितेको मालारानी गाउँपालिकामा समेत आफूहरुले जित हात पार्ने गठबन्धनको विश्वास छ ।
गत स्थानीय निर्वाचनमा मालारानी गाउँपालिकामा एमालेका तर्फबाट बालकृष्ण आचार्यले कांग्रेस-माओवादी गठबन्धनलाई एक्लैले पराजित गरेका थिए। छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकामा नेपाली कांग्रेसले एक्लै जितेको थियो।
त्यस्तै शितगंगा नगरपालिका र सन्धिखर्क नगरपालिकामा नेपाली कांग्रेसले नगरप्रमुख जित्दा माओवादी केन्द्रले उपप्रमुखमा जितेको थियो भने भूमिकास्थानमा माओवादीले नगरप्रमुख जित्दा कांग्रेसले उपप्रमुख जितेको थियो । यी तिनै स्थानीय तहमा कांग्रेस माओवादीले चुनावी तालमेल गरेका थिए।
भूमिकास्थानमा माओवादी केन्द्रबाट निर्वाचित नगरप्रमुख रेशम थापासहितको सम्पूर्ण टिम आफुहरुसँग रहेका कारण गठबन्धनका बाबजुत भूमिकास्थानमा आफुहरूले जित पार्ने एमालेको दावी छ । मालारानीमा विगतमा एक्लै जितेकोले यो पटक झन सहज हुने एमालेको विश्वास छ । त्यस्तै पाणिनीमा पनि माओवादीको ठूलो समूह प्रवेश गराएका कारण जित्ने दाउमा एमाले छ ।
तर, एमालेको यो दाबीलाई गठबन्धन स्वीकार्न तयार छैन । कांग्रेस एक्लैले जितेका दुई स्थानीय तह, कांग्रेस माओवादी तालमेलका कारण जितेका तीन तहमा सहज जित निस्कने गठबन्धनको दाबी छ ।
अझ विगतको चुनावमा एक्लै लडेको जनमोर्चाको समेत यो पटक साथ पाएको गठबन्धन जितको प्रतिक्षामा छ । मालारानीमा समेत एकीकृत समाजवादीको राम्रो प्रभाव रहेकोले विगतको एमालेको केही भोट आफूतिर आउने र सोही भोटको आधारमा अर्घाखाँचीका ६ वटै स्थानीय तह क्लिनस्वीप पार्ने दाउमा गठबन्धन देखिन्छ ।







डिसी नेपाल








Facebook Comment