साबित्राको ह्याट्रिक प्रेरित एपिएफ सेमिफाइनलमा

डिसी नेपाल
५ वैशाख २०७९ २१:४१
36
Shares

काठमाडौं । सावित्रा भण्डारी (साम्बा)को ह्याट्रिक प्रेरित विभागीय टोली नेपाल एपिएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

सोमवार तेस्रो दिन विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराउँदै विभागीय टीम नेपाल एपिएफ क्लब अन्तिम चारमा पुगेको हो। सेमिफाईनलमा अव एपिएफले अर्को विभागीय टोली नेपाल आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

एपिएफको सानदार जितमा सावित्रा भण्डारीले ह्याट्रिक सहित पाँच गोल गरिन्। त्यस्तै अनिता बस्नेत सविता राना मगर र सरु लिम्बुले एक एक गोल गरिन्।

पहिलो हाफको ३६ औं मिनेटमा पहिलो गरेकी सावित्राले खेलको ५१ औं मिनेटमा दोस्रो ७४ औं मिनेटमा तेस्रो ७९ औं मिनेटमा चौथो र ९० औं मिनेटमा पाँचौ गोल गरिन्। अनिताले खेलको ६२ औं मिनेटमा सरुले ७५ औ मिनेटमा र सविताले ८९ औं मिनेटमा गोल गरिन्। खेलमा पाँच गोल गरेकी एपिएफकी सावित्रा भण्डारी ओम्यान अफ द म्याच भइन्।

वनदेवी युवा क्लबको आयोजनमा भईरहेको प्रतियोगिता अन्तर्गत मंगलबार आयोजक वनदेवी युवा क्लब र कालिका स्पोर्टस एकेडेमी चितवन प्रतिस्पर्धा गर्नेछन्। यो अन्तिम क्वाटरफाईल खेल हो। यो खेलको विजेताले सेमिफाईनलमा विभागीय टीम नेपाल पुलिस क्लबको सामना गर्नेछ।

वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ।

प्रतियोगितामा ओम्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए। धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुप प्रदेश खेलकुद परिषद रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *