एमालेको घोषणा पत्र अनुमोदन, चुनाव सार्न खोजे प्रतिवाद गर्ने चेतावनी

डिसी नेपाल
५ वैशाख २०७९ २२:५६
84
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले ३० वैशाख २०७९ का लागि तोकिएको स्थानीय तहको निर्वाचनको घोषणा पत्र अनुमोदन गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार बसेको सचिवालय बैठकमा घोषणा पत्र अनुमोदन भएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए। पार्टी स्थापना दिवसको अवसरमा वैशाख ९ गते उक्त घोषणा पत्र सार्वजनिक गरिनेछ।

बैठकले स्थानीय तह निर्वाचन आउन २५ दिनमात्रै बाँकी रहँदा चुनाव सार्ने षड्यन्त्रमा रहेको निष्कर्ष निकालेको छ। तोकिएको मितिमा चुनाव हुनेमा आशंका व्यक्त गर्दै निर्वाचन हुन नदिन सत्तारुढ गठबन्धन लागिपरेको एमाले आरोप लगाएको हो।

चुनाव सार्न खोजे प्रतिवाद गर्ने चेतावनी एमालेले दिएको छ। बैठकले चुनाव हुन नदिने विरुद्ध पार्टी पंक्ति एकढिक्का भएर लाग्ने निर्णय पनि गरेको छ।

त्यस्तै बैठकमा विभिन्न पालिका र जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ बन्द सूचीमा उम्मेदवार रहेका व्यक्तिहरुको नाम सिफारिस भएकाले उनीहरुको नाम सूचीबाट हटाउन निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय भएको गुरुङले बताए।

त्यस्तै थप १२ वटा विभाग बनाउने निर्णय भएको छ। पार्टीको सल्लाहकार परिषदमा १०५ जना थपेर २७८ पुर्‍याउने निर्णयसमेत भएको उनले बताए।

उनका अनुसार सम्पर्क समन्वय समितिमा ५१ जना रहनेगरी अनुमोदन भएको र पार्टी स्थापनाको दिन पार्टी कार्यालय च्यासलस्थित तुलसी दास प्रतिष्ठानमा सर्ने बताए। त्यस्तै स्थापना दिवसकै अवसरमा १७ जना कम्युनिस्ट अगुवाहरुलाई सम्मान गर्ने निर्णय भएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.