पाेखरा महानगरमा हानथाप भएपछि कांग्रेस कास्कीका सभापतिसहितका नेताहरूलाई काठमाडौं बोलाए देउवाले

डिसी नेपाल
६ वैशाख २०७९ ८:४४
300
Shares

पोखरा। पोखरा महानगरपालिकामा नेपाली कांग्रेस र एकीकृत समाजवादीले दाबी नछाडेपछि सत्ता गठबन्धनमा सिट बाँडफाँट हुन सकेकाे छैन।

कास्कीमा जिल्ला तहका कांग्रेसका नेताहरु कुनै हालतमा पोखरा मेयर छाड्न नसकिने अडानमा छन् भने एकीकृत समाजवादीले पनि आफूहरुले पाेखरामा मेयर नपाए एमालेसँग मिल्न सक्ने चेतावनी दिइसकेकाे छ।

कांग्रेस जिल्ला र पोखरा महानगर समितिका सचिवहरुले विज्ञप्ति नै जारी गरेर एकीकृत समाजवादीबाहेक दलसँग मात्रै गठबन्धन गर्ने बताएका छन्।

कांग्रेसले पोखराको मेयरका लागि १८ र उपमेयरका लागि १० जनाको नाम संकलन गरेको छ। उनीहरुको सामान्य परिचयात्मक कार्यक्रम समेत भइसकेको छ भने आकांक्षीले पोखरा भिजन निर्माण गरिरहेका छन्। यही सन्दर्भमा कुरा गर्न कास्कीका नेताहरुलाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौं बोलाएका छन्।

प्रदेशका सभापति शुक्रराज शर्मा, जिल्ला सभापति किशोरदत्त बराल र पूर्वमन्त्री यज्ञबहादुर थापा जिल्लाको ब्रिफिङ गर्न अहिले काठमाडौं हिँडेका छन्। ‘उहाँ (सभापति)ले बोलाउनुभएको छ। हामीले अहिलेसम्म गरेका निर्णय र भएका प्रगतिबारे रिपोर्टिङ गर्छौं,’ सभापति बरालले भने, ‘किन बोलाउनुभयो भन्ने थाहा छैन। चुनावी विषय नै होला भनेर हामी तयार भएर आएका छौं।’

उनले पोखराको मेयर कांग्रेसले नै पाउनुपर्ने अडानमा आफूहरु रहेको उनले बताए। अघिल्लो साता जिल्लाका झण्डै १ सय नेता कार्यकर्ताले केन्द्रीय पार्टी कार्यालय पुगेर देउवालाई भेटेका थिए। त्यतिबेला भने देउवाले महानगरका विषयमा कुनै निर्णय नभएको भन्दै जिल्ला फर्कन निर्देशन दिएका थिए। अहिले उनैले बोलाएपछि काठमाडौं हिँडेको बरालले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.