वेस्ट इन्डिजका क्रिकेटर किरोन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

डिसी नेपाल
८ वैशाख २०७९ ११:५०
60
Shares

काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर तथा सीमित ओभरका कप्तान किरोन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । पोलार्डले आईपीएलमा आफ्नो टोली मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीचको खेलको एक दिनअघि सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका थिए ।

पोलार्डले इन्स्टाग्राममा पोस्ट गरेको आफ्नो एक भिडियोमा भनेका छन्, ‘मैले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय सचेत भएर गरेको छु ।’ उनले भने, “धेरै युवा क्रिकेटरहरूको सपनाजस्तै मेरो पनि १० वर्षको उमेरदेखि नै वेस्ट इन्डिजको प्रतिनिधित्व गर्ने सपना थियो र १५ वर्षसम्म टि-२० र एसदिवसीय ढाँचामा वेस्ट इन्डिज क्रिकेटको प्रतिनिधित्व गर्न पाउँदा गर्व गर्छु।”

पोलार्डले भने, “मैले सन् २००७ मा मेरो बाल्यकालका नायक ब्रायन लाराको नेतृत्वमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको थिएँ, जसको सम्झना अझै ताजा छ। मरुन (वेस्ट इन्डिजको क्रिकेट जर्सी) लगाएर त्यस्ता महान क्रिकेटरहरूसँग खेल्न पाउनु मेरो सौभाग्य हो। खेलको कुनै पनि क्षेत्रलाई हल्का रूपमा लिनु हुँदैन, चाहे त्यो बलिङ होस् वा ब्याटिङ वा फिल्डिङ।”

पोलार्ड हाल भारतमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल २०२२) मा मुम्बई इन्डियन्सको प्रतिनिधित्व गर्दै छन्। पोलार्डले १२३ अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा २७०६ रन बनाएका छन् भने ५५ विकेट लिएका छन् । योसँगै उनले १०१ टी–२० खेलमा १३५.१४ को स्ट्राइक रेटमा १ हजार ५६८ रन बनाएका छन् ।

पोलार्ड अन्तिम पटक वेस्ट इन्डिजको कप्तानको रूपमा यसै वर्ष फेब्रुअरीमा भारतविरुद्धको अन्तर्राष्ट्रिय खेलमा मैदान उत्रिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *