कांग्रेस घोषणापत्रमा केपी शर्मा ओलीको मूल्यांकन-एउटा जनउत्तेजनाको व्यापारी

डिसी नेपाल
११ वैशाख २०७९ १४:२२
248
Shares

काठमाडौं। नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एउटा जनउत्तेजनाको व्यापारी भएको बताएको छ। कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आइतबार सार्वजनिक गरेको घोषणापत्रमा ओलीलाई जनउत्तेजनाको व्यापारी बताएको हो।

‘नेपाल कम्युनिष्ट पार्टीले सत्ता र शक्तिको केन्द्रिकरण गर्ने केपी शर्मा ओली जस्तो एउटा जनउत्तेजनाको व्यापारीको उन्मादी महत्वाकांक्षाका खातिर आफ्नो दलको सारा शासकीय कौशल लोकतन्त्र र समग्र प्रणालीलाई नै तहसनहस बनाउनेतिर लगायो। फलस्वरुप, कम्युनिस्ट सरकारले मुलुकलाई बल्लबल्ल प्राप्त स्थिरताको लाभ लिनबाट फेरि एकचोटि वञ्चित मात्र गरेन, झन् भयङ्कर अस्थिरताको चक्रव्यूहमा फस्ने जोखिमसमेत बढाएर गयो,’ घोषणापत्रमा भनिएको छ।

यतिखेर निर्वाचनबाट प्राप्त जनादेश अनुसार सरकारमा नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षमा नेपाली कांग्रेस बसेर संविधानको कार्यान्वयन गर्न तीव्र प्रतिस्पर्धा भइरहेको अवस्था हुनुपर्नेमा दुर्भाग्यवश त्यस्तो हुन नसकेको कांग्रेसले जनाएको छ।

‘त्यति ठूलो जनादेश पाएको नेकपाको सरकार देश बनाउन होइन, आफूलाई प्राप्त जनादेशको खतरनाक दुरुपयोग गर्नतिर लाग्नु संविधान निर्माणपछिको समयमा नेपाली राजनीतिको सबैभन्दा ठूलो दुःखान्त हो,’ घोषणापत्रमा उल्लेख छ।

सात दशकको अकल्पनीय सङ्घर्षपछि लेखिएको जनताको संविधान, लोकतन्त्र, अर्थतन्त्र, कूटनीति, सामाजिक सद्भाव र सहिष्णुतालगायत सम्पूर्ण व्यवस्थामाथि नै ओलीको सरकारले सुनियोजित आक्रमण गरेको समेत घोषणापत्रमा जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.