बुटवलमा एमालेबाट बाबुराम भट्टराईको उम्मेदवारी दर्ता

डिसी नेपाल
१२ वैशाख २०७९ १८:४२
632
Shares

बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा एमालेका बाबुराम भट्टराईले तामझामसहित उम्मेदवारी दर्ता गराएका छन्। उनी उम्मेदवारी दर्ता गराउन पार्टी उपाध्यक्ष विष्णु पौडेलको साथमा निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

पौडेललगायत थुप्रै केन्द्रीय तहका नेताका साथमा उम्मेदवारी दर्ता गराउने क्रममा ठूलो संख्यामा कार्यकर्ताको उपस्थिति थियो। बुटवल पौडेलको गृहनगर हो। उम्मेदवारी दर्ता गराएपछि भट्टराईले बुटवलको विकासमा काँचुली फेर्नेगरी योजना ल्याउने बताए।

बुटवलको सडक निर्माणमा समन्वय गरी आवश्यक पहलकदमी लिने, विगतमा एमाले नेतृत्वले अगाडि सारेका विकासका योजनालाई अगाडि बढाउने, दीर्घकालीन योजनासहित समृद्ध बुटवलको सपना साकार पार्ने योजना उनले सुनाए।

त्यसैगरी उपमेयरमा सावित्रा अर्यालले उम्मेदवारी दर्ता गराएकी छन्। उनी एमाले केन्द्रीय सदस्य हुन्। उनले बुटवलमा पाका उमेरका महिलाहरूले पढ्ने साधना महिला विद्यालय स्थापना गरी शैक्षिक अभियानसमेत चलाएकी छन्।

यसअघि कांग्रेसका खेलराज पाण्डेले मेयरमा उम्मेदवारी दर्ता गराएका थिए। उनी गठबन्धनबाट उम्मेदवार भए पनि मनोनयन दर्ताका क्रममा कांग्रेस बाहेकका दल उपस्थित थिएनन्। भागबन्डालाई लिएर बढेको असन्तुष्टिका कारण अन्य दल कांग्रेससँग टाढिएर मनोनयन दर्तामा एकसाथ गएका हुन्। उपमेयरमा भने नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.