प्रमुख/उपप्रमुखको दौडमा वडाध्यक्ष

डिसी नेपाल
१८ वैशाख २०७९ ११:१८

खोटाङ। २०७४ को स्थानीय निर्वाचनमा दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ बतासेका लोकेन्द्र राई वडाध्यक्षमा निर्वाचित भए। उनलाई एमालेले वडाध्यक्षको उम्मेदवारका रूपमा पत्याएर टिकट दिएको थियो।

उनी वडाध्यक्षमा विजयी पनि भए । पाँच वर्ष जनप्रतिनिधिका रूपमा काम गर्नेक्रममा उनले आफ्नो भूमिकालाई थप फराकिलो बनाए। वडाबाट नभएर सिंगो पालिकाको नेतृत्व गर्ने क्षमताको विकास गरे।

वडाध्यक्षबाट बिदाइ हुनेबेला उनले गाउँपालिका अध्यक्षको टिकट पाएका छन्। मनोनयन दर्तापछि उनी चुनावी गतिविधिमा व्यस्त बनेका छन्। जिल्लाका १० पालिकाका ७९ वडामा निर्वाचित वडाध्यक्षमध्ये उनी पालिका प्रमुखमा दाबी गर्ने एक्ला वडाध्यक्ष हुन्।

‘सिंहदरबारको अधिकार गाउँगाउँमा अझै पनि पुगेन। सिंहदरबारबाट अति तल झर्‍यो तर ग्रास लेवलमा पुगेन । बरु साविकको गाविसमा भएको अधिकार खोसेजस्तो भो । मैले बस्तीमा बजेट लैजानुपर्छ भनेर वकालत गर्दै आएँ,’ उनले भने, ‘मैले जनतालाई दुःख दिने काम गरिनँ । जनतासँग किप इन टचमा बसेँ । सबै वडाका जनतामाझ पुगेँ । त्यही कारण पनि पार्टीले विश्वास गरेजस्तो लाग्छ।’

सँगै वडाध्यक्षमा चुनिएका कतिपय जनप्रतिनिधि सोही स्थानमा दोहोरिन वडाध्यक्षकै उम्मेद्वार बनेका छन्। कतिपय वडाध्यक्ष पार्टीबाट टिकट नपाएर पाँच वर्षे कार्यकालबाट बिदा हुने तर्खरमा छन्।

तर, हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारका वडाध्यक्ष रमेश राउत अहिले उपमेयरको दौडमा छन्। जनप्रतिनिधिका रूपमा पाँच वर्ष बिताउँदै गर्दा राउतका लागि वडा सानो बन्दै गयो । उनले आफ्नो भूमीकालाई फराकिला बनाउँदै लगे र उपमेयरमा दाबी गर्ने हैसियत बनाए।

ऐसेलुखर्क गाउँपालिका-२ बाकाचोलका वडाध्यक्ष सन्तवीर तामाङ गाउँपालिका अध्यक्षका आकांक्षी थिए। नजिकका साथीभाइलाई पालिका अध्यक्षमा उठ्ने घोषणा गरिसकेका थिए। तर गठबन्धनका क्रममा उनको गाउँपालिका उठ्ने सोच पूरा हुन सकेन । आफ्नै गठबन्धनका उम्मेद्वारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका तामाङ ‘व्याक’ भएनन्। मनोनयनपत्र फिर्ता लिनुको सट्टा कारबाही भोग्न तयार भएका छन्।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका वडाध्यक्ष निर्वाचित हुनुअगावै विकास राईलाई मेयर हाँक्ने क्षमता भएको व्यक्तिका रूपमा चर्चा गर्ने गरिएको थियो।

उनी सम्वद्ध माओवादी केन्द्रले २०७४ मा वडाध्यक्षको टिकट दियो र भारी मतका साथ विजयी बने । यसपल्ट मेयरको उम्मेद्वारमा उनको चर्चा थियो। तर गठबन्धन गर्नेक्रममा नगरमा माओवादी केन्द्रको भागमा उपमेयर पर्‍यो । मेयरमा स्वतन्त्र मनोनयन दर्ता गराएका विकासले गठबन्धनलाई सहयोग गर्नेगरी मनोनयन फिर्ता गरिसकेका छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका वडाध्यक्ष निर्मल राई मेयरका आकांक्षी थिए। पार्टीको संगठन टोलटोलमा पुगेकै थिएन । त्यस्तो अवस्थामा उनी संघीय समाजवादी फोरम (हाल जसपा)बाट वडाध्यक्ष चुनिएका थिए।

उनले वडामा काम गर्नेक्रममा नगरपालिका हाँक्ने आँट र साहस जुटाए । तर गठबन्धनको भागबन्डा गर्नेक्रममा जसपाले अन्य दललाई सघाउनुपर्ने अवस्था आयो । यद्यपी उनी ‘नगर चलाउँछु’ भन्ने उम्मेदवारका रूपमा देखिए।

उपप्रमुखबाट प्रमुखका उम्मेद्वार

अघिल्लो स्थानीय तहको हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसबाट विमला राई उपमेयरमा निर्वाचित भइन् । पाँच वर्षको कार्य अनुभवबाट उनले यसपल्ट आफूलाई मेयरको दावेदारका रूपमा उभ्याएकी हुन् ।

यस्तै, एमालेबाट निर्वाचित खोटेहाङ गाउँपालिकाकी उपाध्यक्ष कविता राई र बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष गोमादेबी मगर प्रमुख बन्नका लागि चुनावी मैदानमा उत्रिएकी छन् ।

जागीर छाडेर उम्मेद्वार

दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ बतासेका गोपालचन्द्र राई आयल निगमको उपप्रन्धक (प्रशासन)को जागिर छाडेर गाउँपालिका अध्यक्षका उम्मेद्वार बनेका छन् ।

नेपाल आयल निगममा १ चैत २०६९ मा सेवा प्रवेश गरी हाल उपप्रन्धक (प्रशासन) पदमा कार्यरत राईले गत ६ वैशाखदेखि लागू हुनेगरी राजीनामा दिएका थिए । उनलाई माओवादी केन्द्रले गाउँपालिका अध्यक्षको टिकट दिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *