कांग्रेस विधानमा कार्यकर्ताले हसिया हथौडामा भोट हाल्ने व्यवस्था छैन : जगन्नाथ पौडेल (भिडियो)
काठमाडौं। भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले पार्टीले कार्यकर्तालाई हसिया हथौडामा भोट दिन सर्कुलर जारी गर्न नमिल्ने बताएका छन्। उनले कांग्रेसको विधानले कार्यकर्तालाई हसिया हथौडामा भोट हाल भनेर निर्देशन दिने व्यवस्था नभएको बताएका छन्।
डिसी नेपालको प्रस्तुती द बृज टकमा अर्जुन दाहालसँग कुरा गर्दै भरतपुर महानगरपालिकाको मयेरमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले पार्टीको विधानभन्दा बाहिर गएर स्वार्थ केन्द्रित राजनीतिले पडक जमाउन थालेपछि विद्रोह गर्नु गरेको बताएका हुन्।
‘पार्टी संचालन पद्धतिलाई पार्टीको विधानले निर्देशित गरेको हुन्छ। पार्टीको विधानभन्दा बाहिर गएर जब स्वार्थ केन्द्रित राजनीतिले पकड जमाउन थाल्छ, त्यसले स्वभाविक रुपमा निम्त्याउने समस्या विद्रोह नै हो,’ उनले भने, ‘त्यसकारण यो एउटा गम्भीर चुनौतीको विषय बनेको छ।’
उनले तलका कार्यकर्तालाई विधि र कानुनले बाँध्ने अनि माथिकालाई कानुनको दुरुपयोग गरेर स्वेच्छाचारी हुने छुट विधानले नदिएको बताए।
‘पार्टीको विधानले पार्टीको कुनै पनि नेता, कार्यकर्तालाई हसिया हथौडामा भोट हाल भनेर निर्देशन दिने अधिकार छैन। विधिको शासन भनेको तलका कार्यकर्तालाई विधि र कानुनले बाँध्ने, अनि माथिकालाई चाँही कानुनको दुरुपयोग गरेर स्वेच्छाचारी हुने छुट दिएको छैन,’ उनले भने, ‘त्यस्तो लोकतन्त्रको अभ्यास हामी लोकतन्त्रवादी नभएर आरामले बसे हुन्छ। होइन, हामी विधिको लोकतन्त्रवादी हो भने विधिको शासनको अनुयायी हुनुपर्छ, अनि आफू अनुयायी र अनुशासित भएपछि अरुलाई आदेश दिन मिल्छ।’
उनले आफूमाथि गरिएको अनुशासनको कारवाही विधान विपरित भएको दाबी गरे। ‘नेपाली कांग्रेसले हसिया हथौडामा भोट हालेन भनेर कार्यकर्तालाई कारवाही गर्न मिल्दैन,’ उनले भने, ‘किनभने कांग्रेसको विधानले रुख चिन्हलाई चुनाव चिन्ह मानेको छ भने चारतारे झण्डालाई पदप्रदर्शक सिद्धान्त मानेको छ। अनि यी दुवै कुरालाई मान्नका निमित्त नेता कार्यकर्तालाई बाध्य बनाएको छ।’
उनले अगाडि भने, ‘मैले त्यो निर्देशन मान्नु पर्ने, अनि आफूलाई विधानलाई लत्याएर स्वेच्छाचारी काम गर्ने, आफ्नो भाइ भतिजालाई टिकट दिने, श्रीमतीलाई टिकट दिने, छोरीलाई टिकट दिने अनि ज्वाईँलाई राजदूत बनाउने यस्तो प्रकारको लोकतन्त्रको अभ्यास हामीले गरेको होइन, विपी कोइरालाबाट पाएको उत्तराधिकार यस्तो होइन।’
भिडियाे







डिसी नेपाल








Facebook Comment