एमाले, कांग्रेस र माओवादीलाई भोट हाल्नु साँढेको टाङमुनी बाल्टी थाप्नु जस्तै होः राजेन्द्र लिङ्देन

डिसी नेपाल
२४ वैशाख २०७९ २०:२५
180
Shares

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पुराना नेता र पार्टीहरूबाट अव देशको विकास सम्भव नभएकोले विकल्प रोज्न आग्रह गरे । अहिले राप्रपा नयाँ विकल्प बनेर आएको भन्दै भोट हालेर चुनाव जिताउन आग्रह गरेका हुन् ।

‘कांग्रेसलाई अब कति पटक भोट दिएर देश बन्छ होला ? एमाले, माओवादीलाई कति पटक मौका दिए बन्छ होला ? ३० वर्षदेखि हेर्‍यौं । मैले आलोचना गर्न भनेको होइन,’ उनले भने, ‘कुनै कांग्रेसको साथीले भन्न सक्छ ? शेरबहादुर देउवालाई कति चोटि थपिदियो भने देश बन्छ होला ? केपी ओली, प्रचण्डहरूलाई कति पटक दियो भने देश बन्न सक्छ होला ? एमाले, माओवादीका साथीले भन्न सक्छ ?’

उनले पूरानै पार्टीलाई भोट दिनु भनेको साँढेको टाङमुनी बाल्टी थापेजस्तै हुने तर्क गरे । ‘फेरि मलाई भन्न मन लाग्छ, यिनै नेता र पार्टीलाई भोट दिनु भनेको साँढेको टाङमुनी बाल्टी थाप्नु जस्तै हो । साँढेको टाङमुनी बाल्टी थापेर दूध आउँछ ? आउँदैन,’ उनले भने, ‘त्यै भएर अहिले मुख्य विकल्प भनेको राप्रपा हो । खुलेर आउन मन हुनेहरूले खुलेरै सहयोग गर्नुस्, खुल्न नसक्नेले आफ्नै पार्टीमा बसेर हलोमा भोट हाल्नुस् ।’

पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले एमालेलाई जनताले ८ वटै सरकारको नेतृत्व गर्ने जनमत दिए पनि त्यसलाई थाम्न नसकेको आरोप लगाउँदै उनीहरूलाई भोट दिन नहुने बताए । ‘नेपाली जनताले कम्युनिस्ट पार्टीलाई ८ वटै सरकारको नेतृत्व गर्न दिएको होइन ? यो कम्युनिस्टको सरकार कांग्रेसले ढालेको हो ? राप्रपाले ढालेको हो ? जनताले ढालेको हो ?,’ अघि भन्छन्, ‘त्यो मतलाई ५ वर्ष थामेर खान सक्दैनन् । एमाले भन्ने पार्टीलाई कति सिट दियो भने सरकार थामेर खान सक्लान् ? त्यसकारण कसैले पनि गल्ती गर्न हुँदैन । भुल गर्ने छुट छैन ।’

आफूले कुरा मात्रै नभई कामै गरेर देखाइदिने लिङ्देनको दाबी छ । ‘कांग्रेस, एमाले, माओवादीका बाठा साथीहरूले भन्नुहोला हामीले नसकेको काम राजेन्द्रले गर्न सक्छ रु हामी कर बढाउने होइन, हामीले चुनाव जितेको स्थानीय तहमा ५० प्रतिशत कर कटौती गरेर देखाइदिन्छौं,’ भन्छन्, ‘त्यसैले के कांग्रेस, के एमाले, के माओवादी, के जसपा एक पटक राप्रपालाई भोट दिनुस् । आफ्नो पार्टीको नेता आउँदा धुरीको झण्डा देखाइदिनुस् । भोट चाहिँ चुपचाप हलोमा हान्नुस् है ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.