कांग्रेसमाथि ओलीको प्रहार : कांग्रेसले जनादेशमाथि कुठाराघात गर्‍याे

डिसी नेपाल
२५ वैशाख २०७९ १२:०४
140
Shares

काठमाडौं। एमाले अध्यक्ष केपी ओली नेपाली कांग्रेसमाथि खनिएका छन्। कांग्रेस लामो समय सरकारमा रहँदा पनि देश र जनताका लागि केही गर्न नसकेको उनकाे आरोप छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले कांग्रेस अहिलेसम्म २७ वर्ष सरकारमा रहेको बताए । कांग्रेसले २० वर्ष आफ्नै नेतृत्वमा एकल सरकार चलाएको बेला पनि जनताका लागि केही गर्न नसकेको उनको आरोप छ।

‘२० वर्ष एकल सरकार चलायो। सात वर्ष संयुक्त सरकार चलाउँदा पनि केही गर्न सकेन,’ ओलीले भने। कांग्रेस कमजोर तत्वहरूलाई लिएर देशलाई उल्टो बाटोमा हिँडाएको उनको आरोप छ।

‘सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्य बोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ, सहयोग लिएर राजनीतिक र देशहितका सम्बन्धमा उल्टो बाटो समात्ने काम गर्‍यो,’ ओलीले भने।

नेपाली कांग्रेसको सुविधामा आधारित परराष्ट्र नीतिले राष्ट्रियतामा कुठाराघात भएको छ। विगतमा राणा, राजा र कांग्रेसको सरकारले जनताको लागि कुनै योजना अघि नबढाएको उनको आरोप छ।

स्वर्ग जस्तो देशलाई विकास गर्नुभन्दा कांग्रेसले संसारकै गरिब देश बनाएको उनको आरोप छ। कांग्रेसले एमालेसँग कहिल्यै सहकार्य गर्न नचाहेको उनको आरोप छ । ‘कांग्रेस बरू राणासँग घाँटी जोड्न तयार भयो । दक्षिणपन्थीहरूसँग घाँटी जोडेर सरकार चलाइरहेको छ। उसलाई लज्जाबोध हुँदैन। तर, हामी जनताभन्दा ठूला कोही छैन भन्नेमा हुन्छौं तसर्थ, हामी जनताको बीचमा रहन्छौं,’ ओलीले भने।

कांग्रेसको आन्तरिक घेराबन्दीसँगै नाकाबन्दीको पनि सामना गरेर एमाले सरकार अघि बढेको उनले दाबी गरे। कांग्रेसले जनादेशमाथि कुठाराघात गरेको समेत उनले आरोप लगाए ।

‘कांग्रेसले जनमतको आधारमा भन्दा पनि जनादेशको अपमान गरिरहेको छ । त्यस्तै अब कम्तीमा दुई अवधि पाँच पाँच वर्ष एमालेलाई विजयी गराई देशमा स्थिरता र स्थायित्व गराउन हार्दिक अनुरोध गर्दछुु,’ ओलीले भने।

कांग्रेसलाई मतदान गर्ने धारणा बनाइरहेका मतदातालाई सूर्य चिन्हमा मतदान गर्न ओलीले आग्रह गरे। ‘जनताको विश्वास दिलाउनको लागि गठबन्धन चाहिँदैन। कांग्रेसलाई मतदान गर्ने धारणा बनाइरहनु भएका मतदातालाई सूर्य चिन्हमा मतदान गर्न आह्वान गर्दछौं,’ ओलीले भने । उनले नयाँ मतदातालाई समेत जीवनको पहिलो मतदान सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.