मतदान गर्न घर फर्कंदै मनाङका मतदाता

डिसी नेपाल
२६ वैशाख २०७९ १४:२८
60
Shares

मनाङ। वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि मनाङका मतदाता घर फर्कन थालेका छन् । यहाँका अधिकांश मतदाता जिल्ला बाहिर बसोबास गर्ने भएकाले मतदानका लागि उनीहरु गाउँ फर्कन लागेका हुन् ।

मनाङका मतदाता काठमाडौँ, पोखरालगायत ठूला सहरी क्षेत्रमा बसोबास गर्ने भएकाले मतदानका लागि हाल जिल्ला फर्किन थालेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार अधिकांश मनाङवासी बाहिरी जिल्लामा बसोबास गरे पनि उनीहरुको मतदाता नामावली मनाङमै रहेको छ ।

“यहाँका बासिन्दा व्यापार, व्यवसाय र कामकाजका लागि बाहिरी जिल्लामा बसोबास गर्नुहुन्छ, उहाँहरुको मतदाता नामावाली यतै भएकाले फर्कन थाल्नुभएको हो, विभिन्न सरकारी कामकाजका लागि पनि उहाँहरु मनाङमा नै फर्किनुपर्ने हुन्छ,” प्रजिअ आचार्यले भने, “अहिले मतदानकै लागि गाउँघर फर्किने क्रम चलिरहेको छ ।” अहिले विशेषगरी माथिल्लो मनाङस्थित मनाङ ङिस्याङ, नार्पाभूमि र चामे गाउँपालिकाका मतदाता फर्किरहनुभएको उनले बताए ।

सदरमुकामस्थित चामे गाउँपालिका–४ र ५ वडाका अधिकांश स्थानीय काठमाडौँमा बसोबास गर्ने गरेका छन् । चामे गाउँपालिका–४ को सरस्वती तामाङ मतदानका लागि जिल्ला फर्केको बताउँछिन् । “लामो समयपछि मतदान गर्न पाइने भो, त्यसैले हामी गाउँ फर्केका हौँ”, तामाङले भनिन् ।

पाँच बर्षपछि जनप्रतिनिधि छनोट गर्ने निर्वाचनमा मतदान गर्नकै लागि अहिले गाउँ फर्केको उनको तर्क छ । “हामी पाँच वर्षमा मतदान गरेर जनप्रतिनिधि छनोट गर्ने अधिकार पाउछौँ, मनाङको विकासका लागि सही जनप्रतिनिधि छनोट गर्न भनेर मतदान गर्न फर्किएको हुँ,” तामाङले भनिन् ।

जिल्ला बाहिर बसोबास गर्ने छिमेकी गाउँका स्थानीय पनि मतदानका लागि आउने क्रम रहेको उनले बताइन्। तामाङजस्तै मतदानका लागि नार्पाभूमि गाउँपालिका–४ का सोनाम तेन्जिङ लामा र मनाङ ङिस्याङ गाउँपालिका–६ का सागर गुरुङले पनि मतदान गर्न जिल्ला फर्किएको बताए । “गाउँ आइपुगियो, अब आफ्नो मनपरेको उम्मेदवारलाई भोट हाल्नुपर्छ”, लामाले खुसी व्यक्त गरे ।

लामाले मनाङको विकास र सहज आवातजावतका लागि सहज सडक निर्माणका लागि उपयुक्त जनप्रतिनिधि छनोट गर्नु आवश्यक रहेको बताउँछन् । उनी भन्छन् “विगतको विकासलाई अझ सहज बनाउने प्रयत्नशील जनप्रनितिधि छनोटका लागि नै गाउँ फर्किएको हुँ ।”

नार्पाभूमि गाउँपालिकाको नार, फु, मेता, च्याखुलगायतका गाउँ र ङिस्याङ गाउँपालिकाका पिसाङ, खाङ्सार, भ्राका, ङावल लगायतका क्षेत्रका स्थानीयवासी फर्किने क्रम चलिरहेको हो । मनाङ ङिस्याङ गाउँपालिकाको मतदाता सङ्ख्या तीन हजार ५३५ रहेको छ भने नार्पाभूमि गाउँपालिकामा ४४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ।

रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.