पाल्पाको रम्भामा एमालेको अग्रता
पाल्पा। पाल्पाको रम्भा गाउँपालिकामा अहिलेसम्म नेकपा (एमाले)को अग्रता छ । एमालेबाट पालिका अध्यक्षका उम्मेदवार विष्णुप्रसाद भण्डारी चार हजार १८६ मतका साथ अगाडि रहेका छन्। गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार दुर्गाप्रसाद अधिकारी तीन हजार ३४८ मतका साथ पछाडी छन्।
उपाध्यक्षतर्फ एमालेबाट उम्मेदवार बनेकी राधादेवी श्रेष्ठ चार हजार ३४४ मतसहित अगाडि रहेकी छिन् । यस्तै उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले तीन हजार ६१३ मत पाएका छन् । पालिकाको पाँच वडामध्ये हालसम्म चार वडाको मात्रै मतपरिणाम सार्वजनिक भएको छ ।
वडा नं ३ को मतपरिणाम आउन बाँकी छ । चार वडामा सार्वजनिक भएको मतपरिणामध्ये अध्यक्ष पदमा ७०२ र उपाध्यक्षमा ४९९ मत बदर भएको पाइएको छ । वडा नं १ मा नेपाली कांग्रेसबाट अध्यक्षमा ईश्वर काफ्ले एक हजार ६४३ मतसहित विजयी भएका छन् । उजका प्रतिस्पर्धी एमालेका मनबहादुर मश्राङ्गीले एक हजार ४४४ मत पाएका छन्।
यहाँ खुल्ला महिला सदस्य र दलित महिला सदस्य एमालेबाट र खुल्ला दुई सदस्य कांग्रेसका विजयी भएका छन् । वडा नं २ मा अध्यक्षमा एमालेका चेतबहादुर सुनारी ९३८ मतसहित निर्वाचित भएका छन् भने प्रतिस्पर्धी कांग्रेसका रमेशप्रसाद प्रसाईंले ७३६ मत ल्याएका छन्।
वडा नं ४ मा एमालेकै अध्यक्ष कृष्णबहादुर रायमाझीको प्यानल नै विजयी भएको छ । निर्वाचित अध्यक्ष रायममाझीले ८३४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका चेतनारायण श्रेष्ठले ५७७ मत पाएका छन् । वडा नं ५ मा एमालेकै प्यानल निर्वाचित भएको छ । यहाँ खुमकान्त बस्याल एक हजार १४० मतसहित विजयी भएका छन् भने प्रतिस्पर्धी कांग्रेसका विष्णुबहादुर थापा कामुले ७२६ मत ल्याएका छन्।
यहाँ वैशाख ३० को निर्वाचनमा ११ हजार ४५७ मत खसेको थियो । बाँकी रहेको वडा नं ३ मा खसेको दुई हजार ९८४ मत गणना हुदैछ । रम्भामा गत वैशाख ३१ गते साँझ वडा नं ५ को मतगणना गर्ने क्रममा विवाद भएपछि एक हप्ता गणना स्थगित भएको थियो । विवाद समाधान पश्चात् यही जेठ ६ गते अपरान्हबाट मात्रै मतगणना कार्य थालिएको हो । पाल्पाका दश पालिकामध्ये अन्य नौ पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ ।







डिसी नेपाल








Facebook Comment