स्थानीय निर्वाचन : बेसीशहरमा ४४ जनाको धरौटी जफत

डिसी नेपाल
१० जेठ २०७९ ८:५८
68
Shares

लमजुङ। स्थानीय तह निर्वाचनमा लमजुङको बेसीशहर नगरपालिकामा उम्मेदवार बनेका ४४ जनाको धरौटी जफत हुने भएको छ। कूल खसेको मतको १० प्रतिशत मत नल्याएका विभिन्‍न राजनितिक दल एवं स्वतन्त्र उम्मेदवारको धरौटी जफत भएको हो।

निर्वाचन आयोगका अनुसार कानुनी व्यवस्था बमोजिम बेसीशहर नगरपालिकामा नगरप्रमुखका तीन जना र उपप्रमुख पदका दुई जना, वडा अध्यक्ष र अन्य सदस्य पदमा उम्मेदार बनेका ४४ जनाको धरौटी रकम जफत भएको हो।

बेसीशहरमा धरौटी फिर्ता नहुने उम्मेदारहरुमा प्रमुख उपप्रमुख पद सहित १९ जना विभिन्न वडामा अध्यक्षका उम्मेदार र २० जना अन्य सदस्य पदका उम्मेदार रहेका छन्। कूल २६ हजार दुईसय ६ मतदाता रहेको बेसीशहर नगरपालिका अन्तर्गतका ११ वडामा १८ हजार एकसय ८५ मत खसेको थियो।

नगरपालिकामा खसेको मतमध्ये उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरूको धरौटी जफत भएको छ। वडा अध्यक्ष तथा अन्य सदस्यहरुले भने सम्वन्धीत वडामा खसेको मत मध्ये १० प्रतिशत मत ल्याउन नसकेका हुन्। बेसीशहरमा विभिन्न पदमा उम्मेदारी दिएका मध्ये धरौटी जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मात्रै १६ जना रहेका छन्। सो बाहेक मंगोल नेशनल अर्गनाईजेशन र जनता समाजबादी पार्टीका आठ/आठ जना उम्मेदार रहेका छन्। त्यसैगरी नेकपा माओबादी केन्द्रका सातजना, चारजना स्वतन्त्र उम्मेदार र एकजना नेकपा एकिकृत समाजबादी पार्टीका उम्मेदार रहेका छन्।

राप्रपाबाट नगरप्रमुख, उपप्रमुख, ६ जना वडा अध्यक्ष र आठजना अन्य सदस्य पदका उम्मेदारहरुको धरौटी रकम जफत भएको हो। मंगोल नेशनल अर्गनाईजेशन पार्टीबाट बेसीशहरमा नगरप्रमुख र उपप्रमुख उम्मेदार बनेका दुईजना सहित विभिन्न वडामा अध्यक्ष उम्मेदार बनेका तीनजना र अन्य तीनजना सदस्य पदका उम्मेदारको धरौटी जफत भएको हो।

त्यसैगरी जनता समाजवादी पार्टीबाट नगरप्रमुख उम्मेदार बनेका एकजना, पाँच जना वडा अध्यक्षका उम्मेदार र थप दुई जना सदस्य पदका उम्मेदारको धरौटी जफत भएको हो। नेकपा माओवादी केन्द्रबाट नगरपालिका अन्तर्गत विभिन्न वडामा सदस्य पदमा उम्मेदार बनेका सात जनाको सम्वन्धीत वडामा खसेको कुल मतको १० प्रतिशत मत नपुगेपछि उम्मेदारको धरौटी जफत भएको हो। त्यस्तै स्वतन्त्र तर्फ धरौटी जफत हुने सवै वडा अध्यक्षका उम्मेदारहरु हुन भने नेकपा एसको पनि एकजना वडा अध्यक्षका उम्मेदारको धरौटी जफत भएको निर्वाचन परिणामले देखाएको हो।

निर्वाचन आयोगले स्थानिय तह अध्यक्ष, उपाध्यक्ष, प्रमुख तथा उपप्रमुखका लागि एकहजार पाँचसय रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरेको थियो। त्यसैगरी वडाध्यक्षका लागि एकहजार रुपैयाँ र वडासदस्यका लागि ५०० रुपैयाँ धरौटी राख्नुपर्ने प्रावधान थियो। यद्यपि महिला र दलित अथवा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा ५० प्रतिशत छुट हुने व्यवस्था रहेको छ।

कुल सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने ऐनमा व्यवस्था छ। तर निर्वाचित उम्मेदवारको हकमा यो लागु नहुने ऐनमा उल्लेख छ। सदर मतको १० प्रतिशतभन्दा कम सदर मत ल्याएरै कुनै उम्मेदवार विजयी भएका छन् भने त्यस्ताको हकमा धरौटी रकम जफत नहुने निर्वाचन आयोगले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.