गुठी संस्थानको अतिक्रमित जग्गा खाली गराइँदै

डिसी नेपाल
१४ जेठ २०७९ २३:४४
132
Shares

धनुषा । जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बेलाकुट्टीमा नेपाल गुठी संस्थानको करिब १७ बिघा अतिक्रमित जग्गा खाली गराउन सुरु गरिएको छ । अहिले यहाँ अबैध रुपमा निर्माण गरिएका संरचना हटाउन थालिएको छ ।

गुठी संस्थानका पदाधिकारी तथा तत्कालिन जनप्रतिनिधिको मिलोमतोमा विभिन्न व्यक्तिले गुठी संस्थानको जग्गा अतिक्रमण गरी घर टहरा तथा अन्य भौतिक संरचना निर्माण गरिएको भन्दै नवनिर्वाचित जनप्रतिनिधि तथा स्थानीयवासीले हटाउन सुरु गरेका हुन् ।

“केही भूमाफियाको सहयोगमा विभिन्न व्यक्तिले गुठीको जग्गा अतिक्रमण गरी घरबार तथा पर्खाल लगाएका छन्”, स्थानीय शङ्कर मिश्रले भने, “बाहिरबाट आएका व्यक्तिले गुठीको जग्गा अतिक्रमण गरेर घर टहरा निर्माण गरेका छन्, हामीले यस विषयमा पटकपटक गुठीका कर्मचारी र तत्कालिन जनप्रतिनिधिलाई भन्दै आए पनि कसैले पनि सुनुवाइ गरेनन् ।” जग्गा अतिक्रमण रोक्न प्रयास गरेपनि उल्टै आफूहरुमाथि मुद्दा लगाइएको उनको गुनासो छ ।

“कहिले फाउण्डेशनको नाममा त कहिले व्यक्तिको नाममा जग्गा घेरबार गर्ने काम भयो”, उनले भने, “सरोकारवाला निकायकै मिलोमतोमा जग्गा अतिक्रमण भएको छ, यसमा ठूलो रकमको चलखेल भएको हुन सक्छ ।” राज्यको सम्पत्ति अतिक्रमणमा पर्दा पनि गुठीका कर्मचारी र तत्कालीन जनप्रतिनिधि चुपचाप बस्नु शङ्कास्पद भएको उनको भनाइ छ ।

आफूहरुले गुठीको जग्गा अतिक्रमण हुन नदिन पहल गर्दै आए पनि गुठी संस्थानका कर्मचारी र तत्कालीन जनप्रतिनिधिले सहयोग नगर्दा रोक्न नसकिएको स्थानीय सन्तोष साहले बताए । जनकपुरधाम उपमहानगरपालिका–२३ का नवनिर्वाचित वडाध्यक्ष राघवेन्द्र साहले अतिक्रमित जग्गा खाली गराउन पहल गरिएको बताए।

“घर टहरा बनाएकालाई भेटेरै जग्गा खाली गर्न आग्रह गरेका छौँ”, उनले भन्नुभयो । अटेरी गरे बल प्रयोग गरेरै पनि जग्गा खाली गराइने वडाध्यक्ष साहले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.