दुबई लगेर सुरक्षागार्डको जागिर लगाइदिने प्रलोभनमा पारेर २ करोड ठगी, पाँच जना पक्राउ
काठमाडौं । दुबईमा सुरक्षा गार्डका लागि आकर्षक तलब सुविधामा पठाइदिने भन्दै करिब साँढे २ करोड रुपैयाँ ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । दुबईमा आर्मस् गार्डमा आकर्षक तलबमा जागिर लगाइदिने प्रलोभन दिएर ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।
उनीहरुले २ करोड ४३ लाख ६ हजार ८१० रुपैयाँ ठगी गरेको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले जनाएको छ । सीआईबीले १ महिलासहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लमजुङको राइनास नगरपालिका–३ का ४७ वर्षीय मधुबिलास बाँस्कोटा, सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–८ का ५४ वर्षीय होमबहादुर खड्का, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ की ३५ वर्षीय रन्जना ढकाल (प्याकुरेल), सोही ठाउँका ४० वर्षीय सन्तोष प्याकुरेल र रुपन्देहीको देवदह नगरपालिका–५ का ३० वर्षीय राजु भनिने खुमबहादुर बस्याल रहेका छन् ।
यो समूहले ७६ जनाबाट करिब साढे २ करोड ४३ लाख रुपैयाँ ठगी गरेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए । पक्राउ परेकामध्ये मधुबिलास वैदेशिक राजेगारीमा जान चाहने व्यक्तिको खोजी गर्ने, आर्थिक व्यवस्थापन गर्ने र त्यसबापत कमिसन लिने गरेका थिए ।
होमबहादुर भने पीडितहरुको कागजात संकलन गर्ने र अन्तर्वार्ताका लागि तयारी गराउने गरेका थिए । रन्जनाले भने पीडितहरुलाई आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाएकी थिइन । आर्थिक कारोबार गर्ने मुख्य भूमिका रन्जनाको भएको सीआईबीले जनाएको छ।
राजु भनिने खुमबहादुरले विदेश जाने व्यक्तिको खोजी गर्ने काम गरेका थिए । सन्तोष प्याकुरेलले पनि विदेश जाने मान्छे खोजेर त्यसबापत कमिसन लिने गरेका थिए । यो समूहले भिजिट भिसामा दुबई पठाई ठगी गर्ने गरेको खुलेको छ ।
दुबईमा रहेको त्रिनेत्र म्यानेजमेन्ट कन्सलटेन्सिजका सञ्चालक कोमलराज उपाध्यायको मिलेमतोमा यसरी ठगी भएको प्रहरीले जनाएको छ । दुबईमा आर्मस् गार्डका लागि भनेर ५ जनाको विज्ञापन समेत देखाइ मासिक ३ हजार दिरामसम्म आम्दानी हुने भन्दै प्रलोभनमा पारेर प्रतिव्यक्ति ८ लाख रुपैयाँसम्म लिएर ठगी गरेको प्रहरीको आरोप छ ।







डिसी नेपाल








Facebook Comment