कांग्रेस नेता सिंहको जनप्रतिनिधिलाई आग्रह- मै हुँ भन्ने अहम् नदेखाई काम गर्नु

डिसी नेपाल
४ असार २०७९ २०:२४
48
Shares

बनेपा । नेपाली कांग्रेसको नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले निर्वाचित जनप्रतिनिधिलाई जितेपछि मै हुँ भन्ने अहंमता नलिन आग्रह गरेका छन् । नेपाली कांग्रेस बनेपा नगर समितिले आज बनेपामा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित कांग्रेसका जनप्रतिनिधिलाई बधाई तथा शुभकामना’ कार्यक्रममा उहाँले पार्टीले कामका आधारमा जनप्रतिनिधिको उचित मूल्याङ्कन गर्ने बताए ।

जनताले काम गर्न दिएको मौकालाई उचित उपयोग गरेर देखाउन आग्रह गर्दै नेता सिंहले पार्टीले जारी गरेको प्रतिबद्धतापत्रअनुसार काम गर्न जोड दिए । उनले अबको स्थानीय सरकारले उत्पादन र रोजगारी सिर्जना गरेर नागरिकलाई वडास्तरमा नै काम गर्ने वातावरण तयार गर्दै उत्पादित वस्तुलाई बिक्रीका लागि बिक्री केन्द्र स्थापना गर्ने योजना अगाडि सार्न समेत आग्रह गरे ।

उनले आगामी निर्वाचनमा पनि यही तरिकाले अगाडि बढ्ने भएकाले निर्वाचित जनप्रतिनिधिले सचेत भएर आफ्नो जिम्मेवारी र भूमिकालाई प्रभावकारी बनाउने काममा लाग्न निर्देशनसमेत दिए । “अब सङ्घीयतालाई बलियो बनाउनका लागि सबै प्रदेश सरकारले आवश्यक कानुन निर्माण गरेर संविधानबाट प्राप्त अधिकारलाई उपयोग गर्ने वातावरण तयार गर्न आवश्यक छ”, उनले भने, “कांग्रेस पार्टी सधैँं राष्ट्र र जनताको हितमा काम गर्ने पार्टी भएकाले कसैको हल्ला र लहडको पछि लागेर हिँड्ने छैन ।”

कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले निर्वाचनमा पार्टीको नेतृत्वले धेरै सुझबुझका साथ गठबन्धन बनाएर अगाडि बढेकै कारण पार्टीले अहिलेको उपलब्धि हासिल गर्न सकेको बताउँदै त्यसलाई टिकाउन जरुरी रहेको बताए ।

बागमती प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र बादे र जिल्ला सभापति तीर्थ लामाले निर्वाचनमा व्यक्ति लडेको नभई पार्टी लडेका कारण त्यसमा निर्वाचित कसैले अहम् नदेखाई पार्टीले जारी गरेको प्रतिबद्धतापत्रअनुसार काम गर्न आग्रह गरे । आगामी पाँच वर्षभित्रमा परिवर्तन भएको महसुस हुने गरी काम गर्नसमेत उनीहरूले जनप्रतिनिधिलाई आग्रह गरे ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.