मन्त्री हेरफेर : गठबन्धनका अन्य दललाई कत्तिको दवाव ?

सम्भव सिंह ठकुरी
१४ असार २०७९ ७:१२
104
Shares

काठमाडौं। लामो समयपछिको अन्योल र विवादकाबीच नेकपा (एकीकृत समाजवादी) पार्टीको तर्फबाट मन्त्रीहरु हेरफेर भएको छ। नवनियुक्त मन्त्रीहरुले सोमबार कार्यभार सम्हाली सकेका छन्। निवर्तमान मन्त्रीहरुको आनाकानी र पार्टी नेतृत्वको दवावकाबीच लामो समयको अन्तरालमा एकीकृत समाजवादीका नेताहरुले मन्त्री बन्ने पालो पाए।

असार १ गते पार्टीको स्थायी कमिटीको बैठकले आफ्नो तर्फबाट भएका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेपनि तत्कालिन मन्त्रीहरु विरोध खतिवडा, प्रेमबहादुर आले, रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठहरुले मन्त्रीबाट नहट्ने भन्दै पार्टी नेतृत्वलाई दबाबमा राख्न सांसदहरुको हस्ताक्षर संकलनदेखि पार्टी बैठकसम्म बहिष्कारसम्म गरे। तर पार्टी नेतृत्व उनीहरुप्रति झनै कठोर हुन थालेपछि उनीहरुले बाध्य भएर राजीनामा पत्र बुझाएका थिए।

यसरी सत्तारुढ गठबन्धनको एउटा प्रमुख हिस्सा एकीकृत समाजवादी मन्त्री हेरफेर गरेसँगै सत्ता गठबन्धनका अन्य दलहरुलाई पनि मन्त्री हेरफेर गर्न दबाब बढेको छ। विशेषतः नेकपा (माओवादी केन्द्र) भित्र नेता बर्षमान पुन आफ्नो पार्टीभित्र पनि मन्त्री फेरिनुपर्ने आवाज उठेको बताउँदै आएका छन्।

अर्थमन्त्री जनार्दन शर्मा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्वन गर्ने प्रकरणदेखि करको दर हेरफेरको विषयले निकै विवादित बने र चौतर्फी आलोचना हुँदा समेत राजीनामा दिएका छैनन्। उनले राजीनामा दिने संकेत देखिएका छैनन्।

तर पार्टीभित्र वर्षमान पुन खेमा भने माओवादीमा मन्त्री हेरफेर गर्नुपर्ने दबाब पहिले देखि रहँदै आएको बताउँदै आएका छन्। तर माओवादी केन्द्रमा मन्त्री फेरबदलको विषयमा कुनै पनि छलफल र दबाब नरहेको नेता देव गुरुङले बताए। ‘अरु पार्टीमा के–के भयो त्यो उहाँहरुको विषय हो तर हाम्रो पार्टीमा यो विषयमा छलफल पनि भएको छैन। प्रसंग पनि निस्केको छैन र केही दबाब पनि छैन,’ गुरुङले भने।

यता प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पनि मन्त्री फेर्दा अन्य दलमा पनि फेरबदलको दबाब बढ्ने र त्यसले सत्ता गठबन्धनको निरन्तरतामै समस्या उत्पन्न हुनसक्ने भन्दै तत्कालका लागि मन्त्रिपरिषद् पुनर्गठन नगर्ने निष्कर्षमा पुगेका थिए।

कांग्रेसको भागमा रहेको रक्षामन्त्री पनि प्रधानमन्त्री देउवाले नै सम्हाल्दै आएका छन्। त्यसकारण पनि पार्टी र गठबन्धनको शक्ति सन्तुलन बिग्रिने भन्दै प्रधानमन्त्री देउवा सुरु देखि नै मन्त्री फेरबदल नगर्ने मनाशयमा थिए।

तर उक्त समय बजेटको विषयमा संसद्मा छलफल चल्दै गरेको हुनाले सम्बन्धित मन्त्रीलाई परिवर्तन गर्नु उचित नहुने भन्दै प्रधानमन्त्री देउवाले धारणा राखेको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले बताए।

‘तर अहिले राजनीतिक कोर्स अर्कै भइसक्यो बजेट पारित भइसक्यो उक्त समयमा पनि प्रधानमन्त्री सहित गठबन्धनको शीर्ष नेताहरुबीच छलफल भएर नै मन्त्री हेरफेर केही ढिलो भएको हो।’

प्रवक्ता महतले भने, ‘एकीकृत समाजवादीको तर्फबाट मन्त्री फेर्ने कुरा केही समय रोकिएकै होे तर निर्णय गर्ने सम्बन्धित दलकै हुन्छ। सोही अनुसार फेरबदल भयो।’
तर एकीकृत समाजवादीले मन्त्री फेर्यो भन्दैमा कांग्रेस सहित अन्य दलले पनि मन्त्री फेरिहाल्नु पर्ने दबाब नरहेको पनि महतले बताए।

‘राजनीतिक दलको आ–आफ्नो प्राथमिकता हुन्छन्। हाम्रो पार्टीमा त्यस्तो खालको कुनै दबाबहरु छैनन्। तर प्रधानमन्त्रीले आवश्यक्ता महशुस गर्नु भयो भने त्यो अधिकार प्रयोग गर्न पनि सक्नु हुन्छ। तर तत्कालको अवस्थामा कुनै दबाब छैन,’ प्रवक्ता महतले भने।

त्यस्तै अर्को सत्तारुढ दल जनता समाजवादी पार्टी(जसपा) मा त झनै किचलो रहेको छ। अध्यक्ष उपेन्द्र यादव समूह र डा.बावुराम भट्टराई समूहको विबाद उत्कर्षमा पुगेको छ।यादव समूहले सुरुमै मन्त्रीको नाम पठाउँदा एकलौटी गरेकोदेखि गत स्थानीय तह निर्वाचनको टिकट वितरणमा समेत एकलौटी निर्णय गरेर आफ्नो समूहलाई उपेक्षा गरिएको भटट्राई समूहको आरोप रहेको छ।

त्यसकारण पनि एकीकृत समाजवादीको मन्त्री हेरफेर गर्ने निर्णयले जसपाका असन्तुष्ट समूहलाई निकै उर्जा मिलेको छ। भट्टराई समूहका सांसद प्रदीप यादवका अनुसार पनि पार्टीभित्र मन्त्री फेर्ने छलफलले तिब्रता पाएको पाएको छ।

गत बिहीवार भएको संसदीय दलको बैठकमा पनि बहुमत सांसदहरुले मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री प्रस्ताव गर्नुपर्ने धारणा आएको सांसद यादवको भनाइ छ।

‘हाम्रो पार्टीमा केही समयदेखि नै मन्त्री फेरबदल गर्नुपर्छ भनेर आवज उठेको हो। अहिले पनि उठिराखेको छ। हामी छलफल र संवाद मै छौँ,’ यादवले भने ‘बहुमत सांसदहरुले मन्त्री फेनुपर्छ भन्ने धारणा राख्नु भएकाले अध्यक्षज्यूले अब केन्द्रीय कार्यकारिणी बैठकमा प्रस्ताव गर्ने कुरा गर्नु भएको छ। त्यसकारण हाम्रो पार्टीबाट पनि नयाँ मन्त्री प्रस्ताव गर्ने सम्भावना बलियो रहेको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.