कोइराला समूहको भेला : ‘कन्सट्रक्टिभ’ विद्रोहसम्मको तयारी

सम्भव सिंह ठकुरी
१७ असार २०७९ ७:००
40
Shares

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सकिएको ६ महिना पुग्न साथ पार्टी भित्रको विवाद छताछुल्ल भएको छ। कांग्रेसका संस्थापन इतर समूहको नेतृत्व गरेका डा.शेखर कोइराला समूहले सभापति शेरबहादुुर देउवाको कार्यप्रति असन्तुष्टी जनाउँदै छुट्टै भेला राखेर ‘कन्सट्रक्टिभ’ अर्थात् रचनात्मक विद्रोहसम्मको तयारी थालेको छ।

बिहीवार काठमाडौंस्थित बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा भएको भेलामा पार्टी सभापति देउवाको कार्यशैली र समग्र राजनीतिमा केन्द्रित रहेर छलफल भएको छ।
बिहीवारको छलफलले कुनै निष्कर्ष ननिकाले पनि भेलामा उपस्थित अधिकांश नेताहरुले पार्टी नेतृत्वको गातिविधिमा त्यसै मौन बस्न नहुने र संघर्ष गर्नुपर्ने धारणा राखेका थिए।

भेला सकिएपछि भेलाको विषयमा जानकारी दिँदै नेता चन्द्र भण्डारीले समसामयिक राजनीति, अहिलेको गठबन्धन देशको आर्थिक अवस्था, आगामी निर्वाचन, बढ्दो महँगी र पार्टीको आन्तरिक विषयमा लामो छलफल भएको बताए। ‘हाम्रो भेलामा ‘कन्सट्रक्टिभ’ विद्रोहसम्मको छलफल चलेको छ। त्यसको आधारमा हाम्रो विचार समूहलाई कसरी लैजाने भन्ने विषयमा पनि छलफल भएको छ,’ भण्डारीले भने।

‘कन्सट्रक्टिभ’ विद्रोहको विषयमा भण्डारीले धेरै कुरा खुलाउन नचाहे पनि बैठक हलमा भने सभापति देउवाले पार्टीभित्र निर्णय एकलौटी ढंगबाट गरेकाले सभापति र पार्टी नेतृत्व विरुद्ध आमरण अनसनदेखि भ्रातृसंस्थाहरुको समानन्तर समिति ल्याउने विषयसम्मको छलफल भएको बैठकमा उपस्थित एक नेताले बताए।

उपस्थित ती नेताका अनुसार डा.चन्द्रमोहन यादवले त आमरण अनसन बस्नु परेपनि आफू रहेको बताएका थिए। यादवको भनाइ उदृत गर्दै ती नेताले भने, ‘हाम्रो सभापतिज्यूल पार्टीको विधि विधानलाई बेवास्ता गरि विगतको समस्यालाई यथावत् राख्नु भएको छ। उहाँ १३ औँ महाधिवेशनको सभापति भन्दा कुनै फरक देखिएन त्यसकारण अव हामी मौन रहनु हुन्न त्यसका लागि आमरण अनसन बस्न परेपनि म बस्न तयार छु।’ यादव पूर्वराष्ट्रपति रामबरण यादवका छोरा पनि हुन्।

भेलामा को-उपस्थित थिए ?

बिहीवारको भेलामा दिउँसो २ बजे बस्ने कार्यतालिका रहेको थियो। सोही समयलाई मध्यनजर राख्दै डा.शेखर कोइराला करिब २ः३० तिर नै अनुपम फुडल्याण्ड पुगेका थिए। कोइरालासँगै डा.रामशरण महत पनि थिए। केही समय पछाडि बलबहादुर केसी पनि आइपुगेका थिए।

कोइराला, महत, केसीसँगै केही केन्द्रीय सदस्यहरु पनि उपस्थित भएका थिए। तर बैठक निर्धारित समयमा भने सुरु हुन सकेन। महामन्त्री गगन थापा आएपछि मात्र बैठक औपचारिक रुपमा सुरु हुने निष्कर्ष निस्केपछि केही समय रोकिएको थियो।

थापा करिव ४ः४० तिरमात्र फडल्याण्ड छिरेका थिए। पार्टीको आन्तरिक छलफल र विभिन्न कार्यव्यस्तताका कारण ढिलो भएको उनी निकट नेताले जानकारी दिए। बैठकमा सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्यहरु संजय गौतम, डा.गोविन्दराज पोखरेल, प्रतिमा गौतमलगाय उपस्थिति रहेको थियो।

नेताहरुमा हृदयराम थानी, रामकृष्ण यादव, रंजित कर्ण, डिल्लीराम सुवेधी, मनोजमणि आचार्य लगायतका नेताहरु उपस्थित थिए। र यो भेलाले कुनै निष्कर्ष नलिकालेका कारण बैठक पुनः आज दिउँसो २ बस्ने र थप छलफल हुने नेता चन्द्र भण्डारीले जानकारी दिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.