सहमतिमै अलग हुन लागेका बाबुरामले उपेन्द्रसँग भने-चुनाव जितेका नयाँशक्तिका प्रतिनिधिलाई कारवाही नगरिदिनुस्
काठमाडौं। पार्टीमा बहुमत पुर्याएर अध्यक्ष उपेन्द्र यादवलाई कारवाही गर्ने तयारी गरेका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले संसदीय दल र केन्द्रीय कमिटीमा बहुमत पुर्याउन नसकेपछि सहमतिमै अलग हुने प्रस्ताव गरेका छन्। भट्टराईले यादवलाई भेटेर सहमतिमै अलग हुने प्रस्ताव गरेका हुन्।
अलग हुँदा पूर्व नयाँ शक्तिबाट चुनाव जितेका जनप्रतिनिधिलाई कारवाही नगरिदिन भट्टराईले यादवसँग आग्रह गरेको र त्यसमा यादव सहमत भएको सांसद प्रदीप यादवले जानकारी दिए।
‘संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद अध्यक्ष बाबुरामजीसँगको छलफलको बारेका ब्रिफिङ गर्नु भयो,’ यादवले डिसी नेपालसँग भने, ‘उपेन्द्रजीसँग बाबुरामजीले अब सहमति मै अलग होऔं भन्नु भएछ, त्यसमा उपेन्द्रजी पनि सहमत हुनु भयो।’
नयाँ शक्तिबाट आएको समूह जसपाबाट अलग हुँदा गत स्थानीय चुनावमा पूर्व नयाँ शक्तिबाट चुनाव जितेका जनप्रतिनिधिलाई कारवाही नगर्न भट्टराईले गरेको आग्रहमा यादव सहमत भएका छन्। तर जसपाबाट चुनाव जितेका वा पूर्व राजपाबाट चुनाव जितेकाको हकमा भने त्यक्त नियम लागू नहुने यादवले भट्टराईलाई जवाफ दिएका छन्। गत स्थानीय तह निर्वाचनमा जसपाले
३० स्थानीय तहमा जित हासिल गरेको थियो। ती मध्ये कति पूर्व नयाँ शक्तिबाट जितेका थिए भन्ने खुलेको छैन। तर उनीहरु पार्टी अलग हुँदा बाबुराम भट्टराईले गठन गर्ने पार्टीमा जान पाउने सहमति भएको हो।
यसअघि संसदीय दल र केन्द्रीय समितिमा भट्टराई पक्षको बहुमत थियो। आफ्नो बहुमत रहेको अवस्थामा भट्टराई पक्षले अध्यक्ष उपेन्द्र यादवमाथि कारवाही गरेर पार्टी कब्जा गर्ने रणनीति बनाएको थियो।
तर १३ गते राति बसेको जसपा बैठकले मन्त्री हेरफेर गर्ने अधिकार उपेन्द्र यादवलाई दिएपछि यादवले संसदीय दलमा बहुमत पुर्याएका छन्। यसअघि भट्टराईलाई साथ दिँदै आएका सांसद इस्तियार राई र प्रदीप यादवले उपेन्द्र यादवलाई साथ दिएका छन्। उनीहरु दुवैलाई मन्त्री बनाउने आश्वासन दिएपछि उनीहरु उपेन्द्रलाई साथ दिएका हुन्।
राई र यादवले उपेन्द्र यादवलाई साथ दिएपछि संसदीय दलमा भट्टराई पक्ष अल्पमतमा परेको छ। आफू अल्पमतमा परेपछि भट्टराईले सहमति मै अलग हुने प्रस्ताव गरेका हुन्।







डिसी नेपाल








Facebook Comment