सत्ता गठबन्धनमा सिट बाँडफाँड लगभग मिल्यो, साउनमै चुनाब घोषणा गर्ने तयारी

सम्भव सिंह ठकुरी
३ साउन २०७९ ११:४०
8.9k
Shares

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनमा चुनावी सिट बाँडफाँडको विषयमा मोटामोटी सहमति भएको छ । यद्यपि अनौपचारिक रुपमा भएको यो सहमतिलाई औपचारिकता दिन बाँकी छ ।

प्रत्यक्षतर्फ १६५ सिट रहेको प्रतिनिधिसभामा औपचारिक रुपमा सिट बाँडफाँडको टुंगो लागिसकेपछि निर्वाचनको मिति घोषणा गर्ने तयारीमा भइरहेको स्रोतले जनाएको छ ।

अब सत्ता गठबन्धनमा रहेका ५ दलका साथ साथै जसपा विभाजन भएका कारण उपेन्द्र यादव र डा. बाबुराम भट्टराई दुवै पक्षका लागि भिन्नाभिन्नै भाग लगाउने विषयमा पनि छलफल भएको छ ।

जसपा विभाजन भए पनि सत्ता गठबन्धनलाई नै निरन्तरता दिने पक्षमा शीर्ष नेताहरु सकारात्मक भएपछि गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)लाई मिलाएर सँगै लैजानुपर्ने दवाब आइपरेको छ ।

स्रोतका अनुसार साउन महिनाभित्रै सिटहरुको भागबण्डा टुंग्याइसक्नुपर्नेमा शीर्ष नेताहरु पहिले नै सहमत भइसकेका थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि दिल्ली जानुअघि नै केन्द्रीय कमिटीको बैठकमा साउन महिनाभित्रै सिटहरुको भागबण्डा टुंग्याइसक्नु पर्ने बताएका थिए।

कसरी लाग्दै छ भागबण्डा ?

भागबण्डा गर्दा १६५ निर्वाचन क्षेत्र मध्ये ९० सिट कांग्रेस, ५० सिट माओवादी केन्द्र र बाँकी रहेको २५ सिट अन्य दललाई दिने अनौपचारिक रुपमा सहमति जुटिसकेको छ ।

तर कांग्रेस एक्लैले ९० सिटको दाबी गरिरहँदा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले असहमति जनाउने सम्भावना पनि त्यत्तिकै बलियो रहेको स्रोतले बताएको छ।

यस्तो अवस्था आउँदा कांग्रेसले ८ देखि १० सिट छाडेर भएर पनि ८० सिट आफू लिने, माओवादी केन्द्रलाई पनि ४५ सिटमा झार्ने र बाँकी रहेको ४० सिटमा एकीकृत समाजवादीलाई १८ जसपालाई १५ सिट दिने गरी सहमति हुन सक्नेछ ।

बावुराम भट्टराईले नयाँ पार्टी दर्ता गर्दा उनी सहित गएका महेन्द्र राय यादव सहितका नेताहरुलाई ३ देखि ५ सिट र जनमोर्चालाई १ देखि २ सिटको भागवण्डा गरेर जान सक्ने स्रोतले जानकारी दिएको छ।

तर गत स्थानीय तहको निर्वाचनमा दलहरुले जितेका स्थानीय तहहरुको आधारमा हिसाब गर्ने हो भने कांग्रेस मर्कामा पर्ने दखिएको छ। गएको स्थानीय तहको निर्वाचनमा गठबन्धनले जितेका स्थानीय तहहरुमा ६५.८ प्रतिशत कांग्रेसले जितेको छ।

यो प्रतिशतलाई आधार मानेर भागबण्डा गर्दा कांग्रेसको भागमा १०८ सिट पर्ने देखिन्छ। यही आधारलाई मान्दा माओवादी ४०, जसपा १०, एकीकृत समाजवादीको भागमा ७ सिट पर्छ ।

कुल ७५३ स्थानीय तहमध्ये गठबन्धनले करिब ५ सयको हारहारीमा स्थानीय तह जितेको थियो। योमध्ये कांग्रेसले ३२९ माओवादीले १२१, जसपाले ३० र एकीकृत समाजवादीले २० स्थानीय तह जितेका थिए।

अर्को विकल्पमा पनि छलफल

स्रोतका अनुसार माथि उल्लेख गरिए अनुसारको विषयमा सहमति हुन नसके अघिल्लो पटक एमालेले जितेका ठाउँमा उपविजेता भएको दललाई प्राथमिकतामा राखेर पनि बाँडफाँड हुन सक्छ।

०७४ को निर्वाचनमा ६४ वटा निर्वाचन क्षेत्रमम एमालेको उपविजेता नेपाली कांग्रेस थियो।
उपविजेताको हैसियतले कांग्रेसले ६४ सिटमा दाबी गर्न सक्छ। यसो हुँदा कांग्रेसको भागमा प्रत्यक्ष जितेका २३ सिट, तत्कालिन राष्ट्रिय जनता पार्टी(राजपा) र साना दलबाट ७ र एमालेले जितेकाबाट ६४ गरी जम्मा ९४ सिट कांग्रेसको भागमा जान पनि सक्छ।

त्यस्तै सुनसरी १, सिराहा ३ मा उपविजेता र महोत्तरी ३ मा एमालेपछि उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरमले तेस्रो स्थानको मत पाएकाले त्यहाँ पनि जसपाले दावी गर्न सक्छ। यसरी यो अवस्था आउँदा उपेन्द्र यादवको पार्टीले पहिले जितेका १० सिटमा बढाएर कम्तिमा १३ देखि १५ सिटमा दाबी गर्न सक्ने पनि स्रोतले बताएको छ।

माओवादी केन्द्रले भने एमालेसँग तालमेल गरि बाम गठबन्धन गरेका कारण एमाले पहिलो र माओवादी दोस्रो रहेको कुनै पनि निर्वाचन क्षेत्र छैन । त्यसकारण माओवादी प्रत्यक्ष जितेको ३६ आफैले दाबी गर्न सक्ने भएकाले उसले ४५ सिट माग्नु स्वभाविक रहेको स्रोतले बतायो।

यसो हुँदा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले कम सिट पाउन सक्छ । समाजवादीमा रहेका २३ सांसदमध्ये १३ सिटमात्र प्रत्यक्ष जितेकाले समाजवादीले १० देखि १३ सिट मात्र पाउन सक्ने सम्भावना पनि रहेको छ ।

भागवण्डापछि निर्वाचनको मिति तोक्ने तयारी

भागबण्डा कसरी मिलाउने भन्ने विषय गठबन्धनमा सबैभन्दा धेरै वहस र छलफल भएको विषय हो। सुरुवातमा भागबण्डा मिलाउने त्यसपछि मात्र निर्वाचनको मिति घोषणा गर्ने तयारी लामो समयदेखि भएको छ।

सुरुमै निर्वाचन क्षेत्रको भागबण्डा भएपछि गठबन्धन थप मजबुत हुने र आफ्नो भागमा परेको ठाउँमा उम्मेदवार चाँडै टुंगो लागेपछि मतदातालाई आफूप्रति आकर्षित गराउन सहज हुने गठबन्धनका शीर्ष नेताको बुझाई रहेको छ।

अर्को कुरा टिकट वितरणमा असन्तुष्ट भएका नेता कार्यकर्तालाई पनि बीचको यो समयमा फकाउन र व्यवस्थापन गर्न सकिने हुँदा गठबन्धनका शीर्ष नेताहरु औपचारिक रुपमा भागबण्डा मिलाएर निर्वाचनको मिति घोषणा गर्न चाहन्छन् ।

स्रोतले भन्यो ‘अनौपचारिक रुपमा हाम्रो भागबण्डा मिलिसकेको छ। अब औपचारिक रुपमा अब बस्ने गठबन्धनको बैठकले फैसला गर्नेछ। र मलाई लाग्छ यही साताभित्र यो कुराहरुको छिनोफानो हुनेछ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.