लमजुङको स्थानीय तहमा २१ करोड रुपैयाँभन्दा बढी बेरुजु

डिसी नेपाल
३ साउन २०७९ १४:५५
124
Shares

लमजुङ। लमजुङका आठ स्थानीय तहमा २१ करोडभन्दा बढी रकम बेरुजु देखिइकाे छ। आर्थिक वर्ष ०७७/७८ मा कार्यान्वयनमा रहेको सात अर्ब ३३ करोड ६० लाख १२ हजार रुपैयाँ बजेटको लेखा परीक्षण भएकोमा २१ करोड ६५ लाख १३ हजार रुपैयाँ बेरुजु देखाइएको हो।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार सबैभन्दा बढी मर्स्याङ्दी गाउँपालिकामा बेरुजु छ। मर्स्याङ्दी गाउँपालिकामा मात्रै पाँच दशमलव ३२ प्रतिशत रकम अर्थात् तीन करोड ८८ लाख ४७ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ।

जिल्लामा सो बाहेक मध्यनेपाल नगरपालिकामा तीन दशमलव ६६ प्रतिशत रकम बेरुजु देखिएको छ। लेखा परीक्षण गरिएको रकममध्ये मध्यनेपालमा तीन करोड ७७ लाख २३ हजार रुपैयाँ बेरुजु देखिएको उल्लेख छ।

यसैगरी राईनास नगरपालिकामा लेखा परीक्षण गरिएको कुल रकमको तीन दशमलव ३२ प्रतिशत बेरुजु देखिएको छ। राईनासमा मात्रै तीन करोड २७ लाख ६४ हजार रुपैया बेरुजु देखिएको हो । सुन्दरबजार नगरपालिकामा पनि लेखा परीक्षण गरेकाे रकमको तीन दशमलव २४ प्रतिशत अर्थात तीन करोड ७८ लाख ६४ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ।

जिल्ला सदरमुकाम समेत रहेको बेँसीशहर नगरपालिकामा भने दुई दशमलब ३३ प्रतिशत अर्थात दुई करोड ७० लाख ६४ हजार रुपैयाँ बेरुजु देखिएको छ भने दोर्दी गाउँपालिकामा एक दशमलव ९० प्रतिशत अर्थात दुई करोड २१ लाख ४३ हजार रुपैयाँ बेरुजु रहेकाे प्रतिवेदनमा उल्लेख छ।

जिल्लाको क्होलासोँथार गाउँपालिकामा एक दशमलव ८७ प्रतिशत अर्थात एक करोड आठ लाख ४० हजार रुपैयाँ बेरुजु देखिएको छ भने जिल्लामै सबैभन्दा कम दुधपोखरी गाउँपालिकामा एक दशमलव ८० प्रतिशत अर्थात ९२ लाख ६८ हजार रुपैयाँ मात्रै बेरुजु भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ। जिल्लाका स्थानीय तहमा अघिल्लो आर्थिक वर्षमा २४ करोड ७२ लाख ८६ हजार रुपैयाँ बेरुजु देखिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.