अर्थमन्त्रालयको मौनताले कोरोना बीमाको दावी भुक्तानी अलपत्र

डिसी नेपाल
१२ साउन २०७९ ६:३२
68
Shares

काठमाडौं। एक लाख भन्दा बढी कोरोना पीडितले दुई वर्ष नाघिसक्दा पनि कोरोना बीमाबापतको भुक्तानी पाएका छैनन्। बीमा कम्पनीहरुले सरकारले रकम निकासा नगर्दासम्म भुक्तानी नगर्ने अडान लिएपछि कोरोना पीडितले भुक्तानी नपाएका हुन्। कोरोना पिडितको झण्डै साढे ११ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी छ।

बीमा कम्पनीहरुले आफ्नो दायित्वमा पर्ने रकम भुक्तानी गरिसकेको भन्दै बाँकी भुक्तानी गर्न नसक्ने बताएका छन्। सरकारले रकम निकासा गरेपछि मात्रै भुक्तानी दिने नेपाल बीमक संघका महासचिव अशोककुमार खड्काले बताउँछन्।

बीमा समितिले पनि कोरोना बापतको भुक्तानीका लागि पटक-पटक ताकेता गर्दै आएको छ। पटक-पटक ताकेता गर्दा पनि रकम निकासा नभएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए। कोरोना बीमा मापदण्ड अनुसार तत्काल रकम निकासा गर्न कार्यकारी निर्देशक पौडेलले माग गरे।

यता अर्थमन्त्रालयले भने कोरोना बीमा बापतको रकम निकासा गर्न सकेको छैन। यस विषयमा अर्थमन्त्रालयका अधिकारीहरु कुरा गर्न सम्म चाँहदैनन्। अर्थमन्त्रालयको मौनताले निकासा हुनुपर्ने झण्डै साढे १२ अर्ब कहिलेसम्म निकासा हुन्छ भन्ने टुंगो छैन।

कोरोनाकाल सुरु भएपछि बीमा समितिको निर्देशनमा बीमा कम्पनीहरुले साढे १७ लाख बीमा लेख जारी गरेका थिए । जसमा डेढ लाखभन्दा बढीले भुक्तानीका लागि दाबी गरेका थिए । हालसम्म बीमा कम्पनी र पुल मार्फत करिब ५ अर्ब रुपैयाँ भुक्तानी भईसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.