अल-कायदाका ‘नयाँ प्रमुख’ सैफ अल-अदल को हुन्?
बीबीसी। अल-कायदाका प्रमुख अयमान अल जवाहिरी अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी ड्रोन आक्रमणमा मारिएसँगै उक्त समूहको नयाँ नेतृत्व विषयमा चासो बढेको छ।
इजिप्टमा जन्मिएका सैफ अल-अदलको सम्भावना उच्च देखिएको छ। अल-कायदाका पाँच जना शीर्षस्थ नेतामध्ये हाल उनी मात्रै जीवित छन् र उनले नै नेतृत्व सम्हाल्ने विश्वास गरिएको छ।
एक समयमा उनीहरू अल जवाहिरीका सहायकका रूपमा परिचित थिए तर प्रमुख बन्न उनलाई थुप्रै समस्या उत्पन्न हुनसक्ने सम्भावना भने छ। अल-अदल हाल इरानमा रहेको विश्वास व्याप्त छ जसलाई अल-कायदाले आफ्नो कट्टर दुस्मनको रूपमा हेर्छ। ओसामा बिन लादेनले विश्वास गरेका अल-कायदाका संस्थापन सदस्यमध्ये एक रहेका अल-अदल रहस्यमय पात्र हुन। उनी अनुभवी जिहादी नेता हुन्।
उनी अमेरिकी निकायहरूले खोजी गरिरहेका व्यक्तिमध्ये एक हुन्। अमेरिकाको सङ्घीय अनुसन्धान निकाय एफबीआईले उनलाई फूले ”खोजी गरिरहेको सूचीमा” राखेको छ। उनीबारे जानकारी दिनेलाई एक करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा पनि गरेको छ।
सन् १९९८ मा २२० जनाको मृत्यु हुने गरी तान्जानिया र केन्यामा अमेरिकी दूतावासमा भएको शृङ्खलाबद्ध आक्रमणमा उनको संलग्नता रहेको आरोप लगाइएको छ। तर उनले अमेरिकाको न्यूयोर्क अनि वासिङ्टनमा गरिएको ९/११ भनेर चिनिने आक्रमणको विरोध गरेको विवरणहरू समेत प्रकाशमा आएका छन्।
सन् २०२१ मा प्रकाशित एउटा दस्ताबेजमा अमेरिकाको मिलिटरी एक्याडमीका अध्येताहरूले अल-अदलसहित अल-कायदाका केही उच्च नेताले अमेरिकामा त्यति ठूलो स्तरको आक्रमण गर्दा उसले व्यापक रूपमा प्रतिक्रिया जनाउने र त्यसले तत्कालीन अवस्थामा अल-कायदाका लागि सुरक्षित मानिएको स्थान अफगानिस्तानमा पनि आक्रमण गर्न सक्ने मत राखेको उल्लेख गरिएको छ।
विगतमा अल-अदल ले “सुरक्षा र गुप्तचर”, युद्ध अनि क्रान्तिसम्बन्धी विषयमा व्यापक रूपमा कलम चलाएका छन्। अल-कायदाका सम्भावित नेतृत्वकर्ताबारे निकै कम सूचना उपलब्ध छ। एफबीआईका अनुसार अल-अदलको जन्म सन् १९६३ को एप्रिल ११ तारिखमा वा त्यसको तीन वर्ष पहिले भएको हो।
उनी अल-कायदामा आबद्ध भए पनि प्रकाशमा आउन रुचाउँदैनन् र उक्त समूहको प्रचार सामग्रीमा पनि त्यत्ति सहभागी हुँदैनन्। उनको पहिचानबारे पनि शङ्का छ। सैफ अल-अदल उनको उपनाम मात्रै हुन सक्छ।
अल-कायदा स्थापना हुँदै गर्दा १९८० को दशकमा उनले बिन लादेन सँगै अफगानिस्तानमा सोभियत सङ्घविरुद्ध लडेको बताइन्छ। अल-अदल पछि सोमालिया गए जहाँ उनले सोमालियाको गृहयुद्धमा अमेरिकाले गरेको हस्तक्षेपविरुद्ध लडिरहेका लडाकुहरूलाई तालिम दिएर सहयोग गरे।
अमेरिकाका दुई वटा एमएच-६० ब्ल्याक हक हेलिकप्टर रकेट प्रहार गरी झारिएसँगै उक्त आक्रमण निकै प्रख्यात हुन पुग्यो। यो घटनामा आधारित रहेर पछि सन् २००१ मा हलिउड चलचित्र ब्ल्याक हक डाउन निर्माण भयो।
अल-अदलको ट्युनिसियास्थित समूहले तीमध्ये एउटा रकेट प्रहार गरेको विश्वास गरिन्छ। उनी सन् १९९० को दशकमा अफगानिस्तान फर्किएका थिए। त्यस बेला तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण कायम गरिरहेको थियो।
सन् २००१ मा अमेरिकामा भएको आक्रमणपश्चात् उनले फेरि अफगानिस्तान छाडे। त्यसपछि उनले इरानको एउटा सुरक्षित घरमा बसेर अल-कायदाले परिचालन गर्ने केही व्यक्तिको नेतृत्व गरे।
उनलाई सन् २००३ मा इरानमा पक्राउ गरिएको र १२ वर्ष पछि अन्य अल-कायदासँगै अर्को जेल सर्ने बेला उनी भाग्न सफल भएको विश्वास गरिन्छ। लामो समयसम्म जेलमा रहे पनि अल-अदल अल-कायदामा प्रभावशाली नेता मानिन्छन्।
सन् २०११ मा पाकिस्तानमा अमेरिकाको स्पेसल फोर्सले बिन लादेनको हत्या गरेपछि जवाहिरीलाई नेतृत्वमा स्थापित गर्न उनले सहयोग गरेका थिए। तर उनी आफै नेतृत्वमा पुग्न भने त्यति सहज नभएको आतङ्कवादसम्बन्धी विज्ञ कोलीन पी. क्लार्क दाबी गर्छन्। उनका अनुसार अल-अदल अझै इरानमा छन् र ”आंशिक नजरबन्द” मा छन्।
त्यसरी बस्दा उनले जिहादी समूहको प्रभावकारी रूपमा नेतृत्व गर्न सक्ने विषयबारे संशय त छँदै छ, उनको सुरक्षामा पनि समस्या छ। अल-कायदाका अर्का उच्च तहका नेता अबु मोहम्मद अल-मास्री सन् २०२० मा तेहरानमा मारिएका थिए।
जवाहिरी जस्तै पछिल्ला वर्षहरूमा अल-कायदाका वरिष्ठ नेताहरूको मृत्यु भएका कारण सम्भावित व्यक्तिको सूची लामो छैन। अल-कायदाले सोमालिया, यमन र मालीमा रहेका क्षेत्रीय स्तरका सहयोगीहरूतर्फ पनि आफ्नो ध्यान केन्द्रित गर्न सक्छ।
यो कदम अभूतपूर्व हुनसक्छ तर जवाहिरीको नेतृत्वमा व्यापक रूपमा संस्था विकेन्द्रित भएकोले यो व्यापक आश्चर्यकै विषय भने नहुन सक्छ। सन् २०१३ मा एक्यूआइएम नेता नासीर अल-वुहायीसी जवाहिरीको सहायक चुनिएको प्रकाशमा आएको थियो।
उनी सन् २०१५ मा अर्को अमेरिकी ड्रोन हमलामा मारिएका थिए। जवाहिरीको उत्तराधिकारीका लागि छानिने जो कोहीले अमेरिकाको निशाना बन्ने डरले गोप्य रूपमा बस्नुपर्ने समान कठिनाइको सामना गर्नेछ।







डिसी नेपाल








Facebook Comment