उपराष्ट्रपति पुनले गरे मध्यपुर थिमिको भैरव नाच अवलोकन

डिसी नेपाल
२९ साउन २०७९ १४:४३
40
Shares

भक्तपुर। उपराष्ट्रपति नन्दबहादुर पुनले भक्तपुरको मध्यपुर थिमिस्थित लायकु भैलः नाच अवलोकन गरेका छन्। मध्यपुर थिमि नगरपालिकाको औपचारिक निमन्त्रणामा थिमिको बालकुमारीमा शनिबार राति पुगेर उनले करिब एक घण्टासम्म नाच अवलोकन गरेका हुन्। ऐतिहासिक र धार्मिक महत्व बोकेको नाच अवलोकन गर्ने उपराष्ट्रपति पुन नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्वमध्ये पहिलो हुन्।

यो नाच प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टदेखि चार रातसम्म थिमिका विभिन्न टोलहरुमा प्रदर्शन गर्नुपर्ने परम्परा रहेको छ। लायकू भैलःसँगै यो वर्ष दिगुटोलमा महांकाली, बोडेमा निलबाराही, ईन्द्रअप्सरा, भस्मासुर र अष्टमातृको गण नाच प्रदर्शन भइरहेको छ।

नाचलाई प्रदर्शन गरी आन्तरिक र बाह्य पर्यटक भित्राउने उद्देश्यले मध्यपुर पर्यटन विकास र प्रवर्द्धन फोरमसमेत गठन गरिएको छ। फोरमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री, सामान्य प्रशासनमन्त्रीदेखि गुठी संस्थानका प्रमुखलाई नाच अवलोकलन गर्न औपचारिक रुपमा निम्तो दिएको जनाएको छ। यो वर्ष नाच अवलोकनको लागि आउने पर्यटकको लागि स्थानीयस्तरका पसल तथा बास बस्नको लागि होटल र लजको व्यवस्थापन गरिएको जनाइएको छ।

थिमिको तत्कालीन दरवारबाट निकालिने भएर मध्यकालदेखिको इतिहास बोकेको लायकू भैलःलाई राजकीय सम्मान दिइएको छ। नेपाल संवत ६३३ सालमा भक्तपुरमा अनिकाल पर्दा राजा सुवर्ण मल्लले नवदुर्गा गण नाच, बोडेको निलबाराही तथा थिमिको लायकु भैलः र महाकाली नाच सुरुवात गरेको इतिहास छ। किंवदन्तीअनुसार थिमिमा भूतप्रेत, दैत्य र दानवहरुले दुःख दिन थालेपछि आराध्यदेवी बालकुमारीको पूजा आराधना गरी देवीकै आज्ञा बमोजिम नाच सुरु गरेको हो।

भैरव नाचमा बेताल एक, भैरव दुई, कुमारी दुई गरी जम्मा पाँच देवगणहरुको सहभागिता रहन्छ। शनिबारदेखि सुरु भएको नाच प्रत्येक राति करिव ८ः३० बजेदेखि सुरु हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.