कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

डिसी नेपाल
५ भदौ २०७९ ९:५७
84
Shares

काठमाडाैं। नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०ः३० बजे बस्ने बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ।

समाजवादी चिन्तक गिरीको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९.३० बजे निधन भएको हो।

गिरीको पार्थिव शरीरलाई आज बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलिका लागि राखिने र बिहान ११.३० बजेदेखि दिउँसो २.०० बजेसम्म कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसपछि उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उहाँलाई गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक नेता गिरी विसं २०२१ पछि राजनीतिमा सक्रिय भएका हुन्। हाल प्रतिनिधिसभा सदस्य रहेका उनी विसं २०२४ मा वनारसमा नेपाल छात्र सङ्घमा निर्वाचित भएका थिए।

उनी विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुका साथै संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भई संविधान निर्माणको जिम्मेवारीमा संलग्न भएका थिए। यसैगरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भएका थिए।

नेता गिरी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिरहा-१ बाट निर्वाचित भएका हुन्। विसं २००४ मा सिरहाको वस्तीपुरमा पिता मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका सुपुत्रका रूपमा उनको जन्मभएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.