भोजपुरमा रु. २० करोड बढी राजस्व संकलन
भोजपुर। करदाता सेवा कार्यालय भोजपुरले रु.२० करोड दश लाख बढी राजस्व संकलन भएको छ । कार्यालयले गत आर्थिक वर्ष २०७८/७९ मा रु.२० करोड, १० लाख, ७४ हजार राजस्व संकलन गरेको हो।
कार्यालयले वस्तु, सेवामा लाग्ने कर, आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क लगायतबाट सो बराबरको राजस्व संकलन गरेको कर अधिकृत संगम गुरुङले बताए।
करदाता सेवा कार्यालय स्थापना भएपछि करदातासमेत बृद्धि भएको उनले जानकारी दिनुभयो । शुरुमा तीन हजार ८९३ करदाता रहेकोमा अहिले त्यसमा बृद्धि भएर करदाताको संख्या छ हजार ४ जना पुगेको कर अधिकृत गुरुङले बताए।
‘‘यहाँ कार्यालय स्थापना भएपछि करको दायरा आउने मानिसहरुको संख्या बढेको छ’’ कर अधिकृत गुरुङले भने,‘ जसको कारण राजस्वमा पनि बृद्धि भएको छ । हामीले विभिन्न समयमा कर सम्बन्धि सचेतनाका कार्यक्रम गरिरहेका छौँ । यसले पनि मानिसहरुलाई करको दायरामा आउन सहज भएको छ ।’
दरबन्दी अनुसारको कर्मचारी नहुँदा भने सेवा प्रवाहमा समस्या भएको कार्यालयको भनाइ छ । समिति कर्मचारीले सेवा दिनु पर्ने अवस्था रहेकोले कार्यबोज बढेको उनले बताए ।
कार्यालयमा एक जना अधिकृत, दुईजना नायव सुब्बा, एक जना कम्प्युटर अपरेटर, एक जना सवारी चालक र एक जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । तर नायब सुब्वा, कम्प्युटर अपरेटर दरबन्दी खाली रहेकाले करार तथा काजमा कर्मचारी राखेर काम गर्नु पर्ने अवस्था रहेको कार्यालयको भनाइ छ।
भोजपुरमा २०७७ सालमा करदाता सेवा कार्यालय स्थापना भएको हो । यहाँ कार्यालय नहुँदा कर तिर्नको लागि तीन दिनसम्म लगाएर धरान तथा धनकुटा जानु पर्ने अवस्था रहेको थियो । कर कार्यालय रहेको स्थान नजिकै राजस्व जम्मा गर्नका लागि बैंकको शाखा नहुँदा भने समस्या हुने गरेको सेवाग्राहीको भनाइ छ।







डिसी नेपाल








Facebook Comment