‘साना-साना अर्थतन्त्र सूचक बलियो बनाउनुपर्छ’
काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले देश विकासका लागि अर्थतन्त्रका साना-साना सूचकलाई बलियो बनाउँदै जानुपर्ने बताएका छन्। नेपाल बार एसोसिएसन र नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा आर्थिक पत्रकारका लागि व्यावसायिक कानुनसम्बन्धी साताव्यापी तालिम समापन कार्यक्रममा उनले उक्त कुरा बताएका हुन्। अर्थतन्त्रका स-साना विषयले देश, समाज विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले अर्थतन्त्रप्रति सबै सचेत हुनुपर्ने उनको भनाइ छ।
नेपालले खुला अर्थतन्त्रको नीति अवलम्बन गरेको स्मरण गराउँदै उनले देशलाई दिगो विकासमा लैजान अर्थतन्त्रलाई थप चलायमान बनाउनुपर्नेमा जोड दिए। नेपाल बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले कानुन व्यवसायी वकालत गरेर पैसा कमाउने मात्र नभई समाजको अभियन्ता पनि भएको दाबी गरे।
उनले भने, ‘कानुन व्यवसायी भनेको अभियन्ता पनि हो, व्यवसायीले पैसा कमाउने ध्येयमात्रै राखेको पनि हुँदैन, उनीहरूको समाजप्रतिको दायित्व पनि हुन्छ।’ दायित्व पूरा गर्ने सन्दर्भमा बार सधैँ अग्रसर रहेको घिमिरेको जिकिर छ।
उहाँले अबको युग आर्थिक युग भन्दै अर्थतन्त्रभित्र निकै कानुनी जटिलता रहेको बताए। उनले भने, ‘हामीले प्रयोग गर्ने शब्दमा धेरै महत्व रहेको हुन्छ, त्यसभित्र केही जटिलता पनि हुन्छ, यस्ता विषय सहजै बुझ्न र अरूलाई बुझाउन कानुन उद्धृत गरियो भने धेरै राम्रो हुन्छ।’
बारकी महासचिव अन्जिता खनालले आगामी दिनमा पनि सेजनसँगको सहकार्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । सेजन अध्यक्ष जनार्दन बरालले सेजन र बारले आगामी दिनमा पनि क्षमता विकास कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराए।
आठदिने तालिममा बैंक तथा वित्तीय कानुन, विदेशी लगानी, अन्तर्राष्ट्रिय व्यापार, बीमा, वित्तीय कारोबार तथा करार, कर, बौद्धिक सम्पत्ति, मिडियासम्बन्धी कानुन, सार्वजनिक खरिद कानुन, कर्पोरेट, धितोपत्र बजारसँग सम्बन्धित ऐनबारेमा विभिन्न वरिष्ठ अधिवक्ताले तालिम प्रदान गरेका थिए।
वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, सविता भण्डारी बराल, डा. गान्धी पण्डित, मात्रिका निरौला, शिवप्रसाद रिजाल तथा अधिवक्ता अमरजिवी घिमिरे, सजनबर सिंह थापा, भरतकुमार लकाई, राजकुमार सुवाल, सन्तोष तिवारी, सेमन्त दाहाल, दीपक घिमिरे, धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र प्रेस काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले तालिम प्रदान गरेका थिए।







डिसी नेपाल








Facebook Comment