पार्टी प्रवेश र विपक्षीको साथबाट शक्तिमा फर्किने ओली रणनीति

डिसी नेपाल
३१ भदौ २०७९ ७:३०
88
Shares

काठमाडौं। पाँच दलीय गठबन्धन कसिलो बन्दै गएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकभर एमाले प्रवेश गराउने अभियान चलाउने बताएका थिए। विकल्प खुम्चिँदै गएपछि एमालेले एमाले प्रवेश गराउने अभियान चलाएको हो।

अहिले मुलुकभर एमाले प्रवेश गर्नेको लहर चलेको एमालेले जनाएको छ। गठबन्धनप्रति असन्तुष्ट दलका नेता कार्यकर्ता अहिले धमाधम एमाले प्रवेश गरिरहो छन्। केन्द्रीय नेतादेखि स्थानीय तहमा प्रभाव पार्ने नेता कार्यकर्तालाई एमालेले आफूतिर आकिर्षत गर्ने नीति लिएको छ।

पाँच दलीय गठबन्धनलाई रोकेर आफू शक्तिमा फर्किने बताइरहेका अध्यक्ष ओलीले राप्रपासँग चुनावी तालमेल गर्ने संकेत पनि गरेका छन्। केही दिनभित्रै एमाले र राप्रपाबीच चुनावी तालमेलको घोषणा हुने राप्रपाका एक नेताले जानकारी दिए।

एमालेले आगामी निर्वाचनमा विपक्षी गठबन्धन निर्माण गरेर शक्तिमा फर्किने रणनीति लिएको छ। पछिल्लो समय माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र लोसपबाट एमालेमा प्रवेश गर्नेको लहर चलेको छ। एमालेको मुख्य ध्येय एमालेबाट बिभाजन भइ गठन भएको एकीकृत समाजवादीका नेता कार्यकर्तालाई एमालेमै फर्काउने रहेको छ।

ओलीले सार्वजनिक कार्यक्रममो चुनावसम्म माधव नेपालसँग कार्यकर्ता नै नरहने र एकीकृत समाजवादीले थ्रेस होल्ड पार गर्न नसक्ने बताउँदै आएका छन्। माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं चितवन जिल्लाका सह-इन्चार्ज रहेका प्रभावशाली नेता यमबहादुर परियार (इन्द्रजित)सहितका नेता-कार्यकर्तालाई ओलीले अबिरमाला लगाएर पार्टीमा प्रवेश गराए ।

एमाले र माओवादी एकतापछि बनेको नेकपाको चितवन जिल्ला अध्यक्ष बनिसकेका परियार पाँचपटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका नेता हुन्। उनी एमालेमा प्रवेश गरेसँगै माओवादीका अध्यक्ष प्रचण्डलाई असर पर्ने विश्लेषण भइरहेको छ।

परियारसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमान्डर अञ्जन तिमल्सिना, चितवनकै कालिका नगरपालिका कमिटी उपाध्यक्ष दिनेश विक पनि एमाले प्रवेश गरेका छन् ।

हालै केही समयअघि लोसपा केन्द्रीय सदस्य अजय गुप्ता, हृदयेश त्रिपाठीको तत्कालीन राजनीतिक समूहमा रहेका वृजेश गुप्तासहित दर्जनौं नेता एमालेमा प्रवेश गरिसकेका छन्। वृजेश अहिले पार्टी केन्द्रीय सदस्यसहित लुम्बिनी प्रदेश सह–इन्चार्जको जिम्मेवारीमा एमालेमा रहेका छन्।

लोसपाबाट प्रतिनिधिसभा सदस्य तथा सचेतक रहेका उमाशंकर अरगरियासमेत एमालेमा प्रवेश गर्ने तयारीमा छन्। अरगरियालाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष ओली आगामी ८ असोजमा अरगरियाको क्षेत्र धनुषा-२ जाने कार्यक्रम तय भइसकेको छ। एमालेप्रति जनताको आकर्षण बढिरहेको भन्दै अध्यक्ष ओली उत्साहितसमेत छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.