ओखलढुंगामा चीर प्रतिद्वन्द्वी सुनुवार र खतिवडाबीच रोचक प्रतिस्पर्धा
काठमाडौं। आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा पूर्वी पहाडी जिल्ला ओखलढुंगामा दुई चीर प्रतिद्वन्द्वबीच रोचक भीडन्त हुँदैछ।
एमालेबाट दुई पटक निर्वाचित यज्ञराज सुनुवार र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामहरि खतिवडाबीच रोचक प्रतिस्पर्धा हुने भएको हो। दुवै युवा नेताले आफू नै चुनाव जित्ने दाबीसहित चुनावी प्रचार प्रसार सुरु गरिसकेका छन्।
दोस्रो संविधानसभामा दुई वटा निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा सुनुवार र खतिवडा दुवैले चुनाव जितेका थिए। तर अहिले जिल्लामा एउटा मात्रै निर्वाचन क्षेत्र छ। यसअघि २०७४ सालमा भएकोप प्रतिनिधिसभा निर्वाचनमा सुनुवारसँग खतिवडा पराजित भएका थिए।
त्यो बेला सुनुवारलाई माओवादीको साथ थियो। बाम गठबन्धन भएका कारण सुनुवारले खतिवडालाई झण्डै पाँच हजार मतान्तरले पराजित गरेका थिए। तर अहिले परिस्थिति फेरिएको छ। अघिल्लो पटक एमालेलाई सघाएको माओवादीले यो पटक कांग्रेसलाई साथ दिएको छ।
उता एमाले विभाजित बनेको छ भने सुनुवार सुरुमा माधव नेपाल समूहमा लागेर अध्यक्ष केपी ओलीलाई असहयोग गरेको भन्दै उनीप्रति जिल्लामा कतिपय नेताहरु असन्तुष्ट छन्।
त्यसो त जिल्लामा एमाले विभाजनको खासै असर परेको छैन। गत स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीले कुल ५२१ मत मात्र पाएको थियो। त्यसमा पनि जिल्लामा एकीकृत समाजवादीले आफ्नो अलग्गै उम्मेदवार उठाएको छ।
गत स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा जिल्लामा कांग्रेस अगाडि देखिन्छ। कांग्रेसले वडा तहमा ३२ हजार २८८ पाएको थियो भने दोस्रोमा एमालेले २९ हजार ५९१ मत पाएको थियो। माओवादी केन्द्रले ६ हजार ९६१ पाएकोे थियो।
जसपाले २ हजार १९४ पाएको थियो। माओवादीको मत कांग्रेसमा थपिँदा चुनाव जित्न कांग्रेसलाई सहज हुने देखिन्छ। तर स्थानीय तह निर्वाचनमा कांग्रेसले माओवादी उम्मेदवारलाई भोट नदिएको भन्दै कांग्रेसप्रति माओवादी असन्तुष्ट छ।
कांग्रेसका लागि माओवादी मत चुनाव जित्नका लागि सहज भएजस्तै एमालेका जनजाति मत प्लस प्वाइन्ट हो। जिल्लामा जनजातिको बाहुल्यता रहेको र एमालेले जनजातिबाट नै उम्मेदवार उठाएका कारण त्यसको लाभ यसले लिन सक्छ।
सुनुवारले पार्टीभत्रैको असन्तुष्ट समूहको मत पाउन कोसिस गर्नुपर्ने देखिन्छ। कुनै बेला माधव नेपाल समूहमा लागेर ओलीलाई सहयोग गरेको आरोप उनीमाथि लाग्ने गरेको छ। यद्यपी उनलाई पार्टीले टिकट दिइसकेपछि अब विगतका कुराले कुनै अर्थ नराख्ने एक नेताले बताए।
उता कांंग्रेसबाट उम्मेदवार बनेको खतिवडा सभापति शेरबहादुर देउवा समूहका हुन्। जिल्लामा शेखर कोइराला समूहले उनलाई सहयोग गरेन भने उनलाई अप्ठेरो हुन सक्छ। सुरुदेखि नै जिल्लामा शेखर समूहलाई पेलेको आरोप खतिवडामाथि लाग्ने गरेको छ।
त्यसमा पनि प्रदेशसभामा पनि शेखर समूहले टिकट नपाएपछि उक्त समूह झन् चिढिएको छ। कांग्रेसबाट प्रदेश क कांग्रेसबाट प्रदीप सुनुवारले टिकट पाएका छन्। उनी पनि देउवा समूहका हुन। प्रदेश ख माओवादी केन्द्रको भागमा परेको छ।
प्रदेश ख मा माओवादीबाट बाबुराम गौतम उम्मेदवार छन्। जिल्लामा आफ्नो समूहलाई कर्नरमा परेको भन्दै शेखर समूह असन्तुष्ट छ, त्यसले खतिवडालाई अप्ठेरो पर्न सक्ने नेताहरुले बताएका छन्।







डिसी नेपाल








Facebook Comment