इलाम-१ : सुवास नेम्वाङ कति सुरक्षित ?
काठमाडौं। २०५६ सालपछि इलाम क्षेत्र नम्बर १ बाट विजयी हुँदै आएका एमाले उपाध्यक्ष सुवास नेम्वाङ यो पटक पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिपस्पर्धा गर्दै छन्।
नेम्वाङ यतिबेला चुनावी अभियानका क्रममा आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त छन्। यसअघि सो क्षेत्रबाट सहज जित निकाल्न सफल नेम्वाङलाई यो निर्वाचन त्यति सहज छैन।
०७४ सालको निर्वाचनमा बाम गठबन्धनका साझा उम्मेदवार बनेका नेम्वाङलाई माओवादीको साथ थियो। संविधानसभाको अध्यक्ष र सभामुख बनिसकेका नेम्वाङ यो पटक पनि चुनाव जितेर आफ्नो अपराजित यात्रा काम राख्ने दाउमा छन्।
तर त्यसका लागि उनलाई त्यति सहज भने छैन। अघिल्लो निर्वाचनमा साथ दिएको माओवादीले यो पटक नेपाली कांग्रेसलाई साथ दिएको छ भने एमालेसमेत विभाजित बनेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गर्दा त्यसको बचाउ गरेका नेम्वाङलाई अहिले त्यही विषयलाई विपक्षीले चुनावी मुद्दा बनाएको छ।
नेम्वाङले संविधान निर्माणमा आफ्नो महत्वपूर्ण भूमिका रहेको, जिल्लामा ठूला विकासका योजना आफ्नै पहलमा भित्र्याएको तथा सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय अभिभार पूरा गर्न पनि आफ्नो जित आवश्यक रहेको भन्दै चुनावी अभियानमा सक्रिय छन्।
‘अहिले म मेरो निर्वाचन क्षेत्रका गाउँ बस्तीम पुगिरहेको छु,’ नेम्वाङले भने, ‘एमालेको पक्षमा सकारात्मक, उत्साहजनक माहोल पाएको छु। चुनाव जित्ने कुरामा शंकै छैन।’
नेम्वाङले आफूले सजिलै चुनाव जित्ने दावी गरेपनि सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रुपमा कांग्रेसका जिल्ला सभापति डम्बर खड्कालाई माओवादी र एकीकृत समाजवादीको सहयोग छ भने एमालेले कसैसँग पनि तालमेल नगरेका कारण एमालेलाई त्यति सहज छैन।
गत स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार एमाले भन्दा सत्ता गठबन्धन चार हजार मतले अगाडि छ। त्यसमा पनि कांग्रेसका उम्मेदवार खड्का भूगोलमा बसेर काम गरेका र जनस्तरमा भिजेका नेता भएका कारण नेम्वाङको चुनौती बनेका छन्।
१ लाख १५ हजार ३ सय ४२ मतदाता रहेको यस क्षेत्रमा इलाम नगरपालिकाका ११ वडा, देउमाई नगरपालिका, माई नगरपालिकाका ३ वटा वडा र फाकफोकथुम, माङसेबुङ र चुलाचुली गाउँपालिका पर्छन् ।
गएको स्थानीय तह निर्वाचनमा इलाम नगरपालिका र चुलाचुली गाउँपालिका कांग्रेसले जितेको छ। देउमाई, फाकफोकथुम र माङसेबुङमा एमाले विजयी बनेको थियो।
२०७४ को निर्वाचनमा नेम्वाङले कांग्रेसका केशव थापालाई पराजित गरेका थिए । नेम्वाङले ३६ हजार ५ सय १४ मत ल्याउँदा थापाले २६ हजार ८ सय ६० मत पाएका थिए ।







डिसी नेपाल








Facebook Comment