झापा-३ : लिङ्देन र सिटौलाबीच रोचक प्रतिस्पर्धा
काठमाडौं। ०७४ सालको आम निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सबैतिर पराजित हुँदा राप्रपा नेता राजेन्द्र लिङ्देन झापा-३ बाट निर्वाचित भएका थिए। राप्रपाले धेरै ठाउँमा नेपाली कांग्रेससँग गठबन्धन गर्दा झापा तीनमा भने राप्रपालाई बामगठबन्धनले समर्थन गरेको थियो।
नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाको नाम ०७४ सालको निर्वाचनमा समानुपातिकमा सूचीमा राखिएको थियो। तर सिटौला आफू प्रत्यक्ष चुनाव लड्नै भन्दै झापा-३ बाट प्रतिस्पर्धा गरे। तर उनलाई राप्रपा नेता राजेन्द्र लिङ्देनले पराजित गरे। सिटौलालाई पराजित गर्दै राप्रपाबाट लिङ्देन एकजना मात्रै चुनाव जित्ने सांसद भए।
लिङदेनले कांग्रेस नेता सिटौलालाई भारी मतअन्तर १३ हजार ४ सय ४३ मतले पराजित गरेका थिए। नेता सिटौलाले २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा ३१ हजार १ सय ७१ मत प्राप्त गर्दा राप्रपा नेता लिङ्देनले ४४ हजार ६ सय १४ मत प्राप्त गरेका थिए।
त्यसको पाँच वर्षपछि यही मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा फेरि लिङदेन र सिटौला आमने सामने हुँदैछन्। विगत लिङ्देनलाई बाम गठबन्धनको समर्थन थियो भने यो पटक एमालेले समर्थन गरेको छ। उता सिटौला भने सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्।
यो बीचमा लिङदेन राप्रपाको नेतृत्वमा आएका छन् भने सिटौला कांग्रेसको राजनीतिबाट ओझेल पर्दै गएका छन्। लिङ्देन र सिटौलाबीचको चुनावी प्रतिस्पर्धा पहिलो पटक भने होइन।
सिटौला झापा-३ बाट ६ पटक चुनावी प्रतिस्पर्धा गसिसकेका नेता हुन्। उनी ०४८ सालदेखि चुनावमा भाग दिँदै आएपनि उनले हालसम्म दुईवटा मात्रै निर्वाचन जितेका छन्।
सिटौलाले २०५१ सालमा भएको उपनिर्वाचन र ०७० सालको संविधानसभा सदस्यमा जित हासिल गरेका थिए। यो सिटौलाको सातौं चुनावी प्रतिस्पर्धा हो।
यो पटक सिटौला सत्ता गठबन्धनको बलमा बदला लिने दाउमा छन् भने लिङ्देन एमालेको सहयोगमा बिरासत जोगाउने धाउन्नमा छन्।
झापा ३ मा तीन गाउँपालिका, दुई नगरपालिकाका ९ वटा वडा पर्छन्। जसमध्ये ०७९ को स्थानीय तहको निर्वाचनमा बाह्रदशी गाउँपालिका एमाले, हल्दीबारी गाउँपालिका राप्रपा र कचनकवल गाउँपालिका कांग्रेसले जितेको छ। यसअघिको स्थानीय तहमा हल्दीबारी, कचनकवल गाउँपालिका राप्रपाले र बाह्रदशी गाउँपालिका कांग्रेसले जितेको थियो।
२०७९ को स्थानीय तहमा कांग्रेसले पाएको कूल मत २६ हजार ५ सय ९९ छ। अघिल्लो स्थानीय तहमा कांग्रेसले पाएको मत २० हजार २२ थियो। यसपटक कांग्रेसको करिब ६ हजार मत बढेको देखिन्छ।
कतिपय वडामा गठबन्धनको मत कांग्रेसको मतमा जोडिएको छ भने केही वडामा कांग्रेसको मत पनि माओवादीतिर गएको छ। झापा ३ मा बिर्तामोड नगरपालिकाको वडा नं. १०, भद्रपुर नगरपालिकाको वडा नंं. १ देखि ८, कचनकवल गाउँपालिका, हल्दीबारी गाउँपालिका र बाह्रदशी गाउँपालिकाको भूगोल पर्छ।
भद्रपुर नगरपालिकामा नेपाली कांग्रेसले मेयर र कचनकवल गाउँपालिकामा अध्यक्ष जितेको छ। यस क्षेत्रमा रहेका कूल २८ वटा वडामध्ये नेपाली कांग्रेसले सबैभन्दा धेरै १६ वटा वडामा जित हासिल गरेको छ। एमालेले ४, राप्रपाले ५, माओवादी केन्द्रले २ र एउटा वडामा जित हासिल गरेको छ। माओवादी केन्द्र २ वटा वडामा र एउटा वडामा स्वतन्त्र उम्मेदवार बिजयी भएका छन्।







डिसी नेपाल








Facebook Comment