जनमतलाई केपी ओलीले अपमान गरे : घनश्याम भुसाल

डिसी नेपाल
१३ कार्तिक २०७९ १५:१२
68
Shares

बुटवल। नेकपा एमाले परित्याग गरी रुपन्देही- १ मा सत्तारुढ गठबन्धनको उम्मेदवार बनेका नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओलीले अघिल्लो निर्वाचनमा पाएको जनमतको अपमान गरेको टिप्पणी गरेका छन्। ‘अघिल्लो निर्वाचनमा एमाले र माओवादी मिलेर चुनाव लड्दा झण्डै दुई तिहाइ जनमत हासिल भएको थियो, तर ओलीले त्यसलाई आफ्नो दाइजो ठानेर जनमतकै अपमान गरे,’ भुसालले भने।

रुपन्देहीको रोहिणीमा गठबन्धनको सम्पर्क कार्यालय उदघाटन गर्दै नेता भुसालले यस्तो बताएका हुन्। प्राप्त जनमतलाई तत्कालीन नेकपाका अध्यक्ष ओलीले दाइजो जस्तो नठानेको भए नेकपा विभाजन नहुने भुसालको तर्क छ। धेरै समय ओलीकै आलोचनामा खर्चिएका भुसालले नेकपा जस्तो विशाल पार्टीलाई ध्वस्त पार्ने काम ओलीले नै गरेको आरोप लगाए।

नेता भुसालले ओलीमा राणाहरुको जस्तो दम्भ भएको बताए। ओलीको दम्भकै कारण कैंयौं निष्ठावान नेताको भविष्य समाप्त भएको भुसालको टिप्पणी थियो। निष्ठावान नेताहरुलाई ओलीले चुनावमा टिकटसमेत नदिएको प्रति संकेत गर्दै ओलीको एकल निर्णयले पार्टीमा विधि र नीति कायम गरेका नेताहरुलाई पाखा लगाएको भुसालले तर्क गरे।

नेपालमा विश्वकै उत्कृष्ट संविधान बनेर देश समृद्धिको दिशामा लाग्न थालेको बेला संसद र संविधानमाथि नै प्रहार गरेर ओलीले देशमा अस्थिरता निम्त्याएको उनको भनाइ छ । दुई पटक संसद विघटन गर्ने ओली नेतृत्वको एमालेमा रहेका नेताहरुले जनताको घर दैलोमा भोट माग्नु लज्जाको विषय हुने उनको तर्क छ । ‘संविधान विघटन गर्नेहरुलाई भोट माग्न आउँदा प्रश्न गर्नुहोला, संविधान च्यात्नेलाई भोट दिने कि संविधानको रक्षा गर्नेलाई ?,’ उनले भने ।

त्रिभुज चुनाव चिह्न लिएर उम्मेदवार बनेका भुसालले मुलुकको समग्र विकासको लागि राजनीतिक स्थिरता र संविधानको कार्यान्वयन नै पहिलो शर्त भएको बताए। कार्यक्रममा रुपन्देही-१ को प्रदेश सभा (१) का उम्मेदवार विश्वनाथ यादव र (२) का अब्दुल रज्जाकले पनि संविधानको रक्षा र उचित कार्यान्वयनका लागि पाँच दलीय गठबन्धन बनेको भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरे।

रुपन्देही- १ मा एमालेका सचिव छविलाल विश्वकर्मा र एमालेबाट विद्रोह गरेका अर्का नेता टिकाराम चापागाईं प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.