धान काट्ने किसानसँग खेतमै पुगेर भोट माग्दै सूर्य थापा

डिसी नेपाल
१४ कार्तिक २०७९ ११:४४
848
Shares

बुटवल। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा दलका नेता र उम्मेदवाहरू प्रचारका लागि अनेक शैली अपनाउन थालेका छन्। मतदाताको घरदैलोदेखि बाली भित्र्याउन खेतमा व्यस्त किसानहरूसम्म उनीहरु पुग्ने गरेका छन्।

प्युठानबाट उम्मेदवारी दिएका एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले धान काटिरहेका किसानहरुसँग भोट माग्दै आफू किसानकै छोरो भएकाले जिताउन आग्रह गरे। बाली भित्र्याउने समय भएकाले अधिकांश मतदाता (किसान) हरू गाउँमा भेटिँदैनन्।

एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थापा मल्लरानी गाउँपालिका-३ सालठाँटीमा पुग्दा किसानहरु खेतमै व्यस्त थिए । धान काट्न व्यस्त किसानहरुसँग खेतमै पुगेर थापाले मत मागे । थापाका अनुसार अहिले किसानहरु गाउँमा खेतीपातीमा व्यस्त छन्।

प्युठानका नौवटा स्थानीय तहका ६४ वटा वडाहरुका गाउँबस्तीमा पुगेर मत माग्ने कार्यक्रमको व्यस्तताले मतदाताहरु जहाँ छन् त्यही पुगेर आफ्ना एजेण्डासहित मत माग्ने गरिएको थापाले प्रतिक्रिया दिए। हालसम्म २० वटा वडाहरुमा पुगेर मतदाताहरुसँग चुनावी भेटघाट गरिएको उनले जानकारी दिए।

प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा एमालेबाट सूर्य थापा र गठबन्धनबाट राजमोकी दुर्गा पौडेल चुनावी प्रतिस्पर्धामा छन् । थापा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज हुन् भने पौडेल राजमोकी उपाध्यक्ष हुन्।

प्रदेश निर्वाचन क्षेत्र नम्बर १ मा एमालेबाट पार्टीका निवर्तमान जिल्ला अध्यक्ष एवं प्रदेश कमिटी सचिवालय सदस्य तुल्सीराम शर्मा र गठबन्धनबाट माओवादीका प्रदेश कमिटी सचिवालय सदस्य कृष्ण अधिकारी (प्रकाश) चुनावी प्रतिस्पर्धामा छन्।

प्रदेश निर्वाचन क्षेत्र नम्बर २ मा एमालेबाट पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला सह इन्चार्ज हरिप्रसाद रिजाल र गठवन्धनबाट कांग्रेसका क्षेत्रीय सभापति एवं चलचित्र निर्माता सरोज थापा (रोज राणा) प्रतिस्पर्धामा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.