बालेन समूहका लौरो अभियन्ता स्वतन्त्र उम्मेदवारले गरे एमालेका महेश बस्नेतलाई समर्थन

डिसी नेपाल
२४ कार्तिक २०७९ ७:४१
3.3k
Shares

भक्तपुर। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह समूहका स्वतन्त्र उम्मेदवारले आगामी मंसीर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई समर्थन गर्ने घोषणा गरेका छन्।

बिहीबार भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभातर्फ लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्नु भएका लोकेन्द्र पोखरेलले भक्तपुरमा मात्र नभई देशभर एमालेका उम्मेदवारलाई मंसीर ४ गतेको निर्वाचनमा मतदान गर्न लौरो अभियानका अभियन्ताहरुलाई आव्हान गरे।

उनले भने, “लौरोले हिर्काउने होइन, राष्ट्र र राष्ट्रियताको सवालमा अडिग रहनेलाई लौरोले त साहारा दिनु पर्छ, त्यस्तो व्यक्तित्व महेश बस्नेत हो, उहाँको बिकल्प छैन भन्ने निष्कर्षमा पुगेर एमाले र लौरो अभियन्ताबीच एकता भएको हो।”

पत्रकार सम्मेलनमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य, पूर्व सांसद एवं भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेदवार महेश बस्नेतलाई लौरो उपहार दिदैँ उनले आजकै दिनबाट आफ्नो उम्मेदवारी फिर्ता लिई आफूसहित लौरो अभियानका स्वतन्त्र अभियन्ताहरुले भक्तपुरमा एमालेका उम्मेदवार बस्नेतलाई अत्याधिक मतले विजयी बनाउने अभियानमा एकजुट भएर लाग्ने बतए।

कार्यक्रममा लौरो ग्रहण गर्दै प्रतिनिधि सभातर्फ एमालेका उम्मेदवार महेश बस्नेतले आजबाट लौरोका अभियन्ता मात्र नभई तमाम स्वतन्त्र अभियन्ताहरुसँगको सहयात्रा सुरु भएको बताए।

उनले भने, “टाढाबाट हेरेर र सुनेर होइन, महेश बस्नेतलाई चिन्न र यहाँको विकास हेर्न यहीँ आउनुपर्छ, भन्ने यथार्थ बुझेर आज लौरोले समर्थन गरेको छ, राष्ट्रियताको पक्ष, निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्यको व्यबस्था गर्ने लगायतका राष्ट्रहितका एजेण्डा बोकेका सबै एक भएर राष्ट्रहित विपरितको गठबन्धनलाई परास्त गर्नु आजको आवश्यकता हो।”

राष्ट्रियताको पक्ष, एमसीसी, एसएसपी, नागरिकता विधेयकको विक्षमा, निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको व्यबस्थाको सवालमा एमालेसँगै लक्ष्य र अभियान मिलेका सबै समूह एक हुनुपर्नेमा जोड दिए।

एमाले नेता एवं उम्मेदवार बस्नेतले विपक्षीले कुनै विषय नपाए पछि तर्कहिन कुरालाई आधार बनाएर आरोप लगाएको सन्दर्भ कोट्याउदै भन्नुभयो, “हत्या, अपहरण, चन्दा असुली, लुटपात, कुटपिट, धम्की जस्ता अराजकताको बिरुद्ध मैले युथ फोर्स गठन गर्दा विपक्षीले गुण्डा भने, सुरेन्द्र यादवसहितको नेताहरु एमाले प्रवेश गर्ने कार्यमा सहजीकरण गरिदिदाँ अपहरणको आरोप लगाए, गाईको दूध दुहुने क्रममा अलिअलि गोबर लाग्छ, कहिलेकाँही लात्ति हान्छ, यस्ता आरोप आफै मिथ्या सावित भएर गइरहेका छन्।”

मधेश र पहाडबीचको सम्बन्ध भत्काउने, जनजाती र बाहुन क्षत्रीबीचको एकता विभाजन गरेर देशलाई सधै अस्थिरतामा धकेलेर स्वार्थ पुरा गर्न खोज्नेको त्यस्ता कदमलाई असफल बनाउन सफल भएको उनको भनाइ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.