सत्ता गठबन्धनका माओवादी र एकीकृत समाजवादीबीच बाजुरामा हानाहान, उम्मेद्वारमाथि ढुंगा प्रहार

डिसी नेपाल
३० कार्तिक २०७९ ६:५४
1.4k
Shares

काठमाडौं। सत्तारुढ दल माओवादी केन्द्रका दुई उम्मेद्वारहरुलाई अर्को सत्तारुढ दल र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुले हमला गरेका छन्। पश्चिम नेपालको बजुरा जिल्लाको दुर्गम गाउं स्वामिकार्तिक खापरमा मंगलबार साँझ सो घटना भएको हो।

माओवादी केन्द्रका दुई उम्मेद्वारहरु बसेको घरमा चारैतिरबाट घेरा हाली एकीकृत समाजवादीका झण्डै सयजतिको समूहले ढुंगामुढा गरेको थियो। बाजुरको प्रदेश सभा क का माओवादी उम्मेद्वार कर्णबहादुर विक र समानुपातिक उम्मेद्वार कमला शाह चुनाव प्रचारका सिलसिलामा सो गाउँमा पुगेका थिए।

उनीहरु दिउसोको कार्यक्रम सकेर साँझ सो गाउँको वडा नं २ फायलगाउँका स्थानीय माओवादी कार्यकर्ता राजेन्द्र बुढाको घरमा बास बस्न पुगेका थिए। उम्मेद्वारसँगै केही माओवादी कार्यकर्ता पनि सोही घरमा बसेको बेला साँझ साढे सात बजेतिर नेकपा एकीकृत समाजवादी पार्टी कार्यकर्ताहरुले वुढाको घर घेरेका थिए। वरिपरिबाट ढुंगा प्रहार गर्न थालेपछि माओवादी उम्मेद्वारहरु आत्तिएका र स्थानीय प्रहरीलाई खवर गरेको नेपाल प्रहरीले जनाएको छ।

माओवादी केन्द्रका उम्मेद्वार विक र कमला शाहसँग नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरु किन आक्रोसित भएका थिए भन्ने कारण स्पष्ट भएको छैन। तर, लगातार ढुंगा बर्षाउन थालेपछि माओवादी कार्यकर्ताले पनि घरमा लुकीलुकी एकीकृत समाजवादीका कार्यकर्तातिर पनि ढुंगा फर्काउने कोसिस गरेका थिए।

आफूहरु पेलिँदै गएपछि माओवादी उम्मेद्वार कमला शाहले प्रहरीलाई फोन गरी आफूहरुको जीवन खतरामा भएको भन्दै जानकारी गराएकी थिइन्। त्यसपछि सो क्षेत्रको चुनावका लागि भनेर गएको अस्थायी प्रहरी पोष्ट मुक्तिकोटबाट बरिष्ठ हवल्दार प्रेमबहादुर पालको नेतृत्वमा केही प्रहरी र केही म्यादी प्रहरीको टोली घटनास्थल पठाइएको थियो।

यो टोलीले पनि स्थितिलाई नियन्त्रणमा लिन नसकेपछि प्रहरी चौकी जुड्डीबाट सई हरि सिंह भाटको नेतृत्वमा १७ जनाको प्रहरी टोली थप गरिएको थियो।प्रहरीको ठूलो टोली गाउँ पसेको थाहा पाएपछि नेकपा एसका कार्यकर्ताहरु तितरवितर भएका थिए । सो घटनामा कोही घाइते भए नभएको विवरण भने अझै प्राप्त भइनसकेको नेपाल प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.