झापामा ओलीले भने- सिंगो एमाले लागेर राप्रपाका उम्मेदवार जिताउँछौं

डिसी नेपाल
१ मंसिर २०७९ १५:०९
124
Shares

काठमाडौँ। एमाले अध्यक्ष केपी ओलीले सिंगो एमाले लागेर राप्रपाका उम्मेदवार जिताउने बताएका छन्। झापा १ इँटाभट्टामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गदै ओलीले एमालेका नेता कार्यकर्ताले राप्रपाका उम्मेदवारलाई जिताउनै पर्ने बताए।

राप्रपा गठबन्धनमा नगएर आफूतिर आएकाले त्यो पार्टीका उम्मेदवारलाई एमालेले जिताउने उनको भनाइ थियो । उनले गठबन्धन सरकारको आलोचना गरे। मिलेर भाग खान गठबन्धन गरेको भन्दै राष्ट्रियताको कुरा सुन्नै नसक्ने गठबन्धनका उम्मेदवारलाई नभई एमालेलाई जिताउनुपर्ने उनको भनाइ थियो।

एमालेसँग देश बचाउने र बनाउने भिजन रहेको उनले दाबी गरे। ओलीले विश्वप्रकाश र अग्नि खरेल होइन, विकास कि विनाशबीचको लडाइँ भएको उल्लेख गरे। उनले जनताले यो निर्वाचनमा गल्ती नगर्ने बताए।

उनले एमालेले कार्यकर्ता खपत गर्नकै लागि झापा १ मा अग्नि खरेललाई नपठाएको बताए। उनले नीति निर्माण र सरकार चलाउन सक्छन् भनेर खरेललाई पठाएको ओलीको भनाइ थियो। यसअघि खरेल झापा २ बाट निर्वाचन लडेर विजयी भएका थिए। ‘एउटा छाप्रा हालेकै भरमा स्थानीय भन्ने हो भने खरेलको पनि यो क्षेत्रमा एउटा छाप्रा हालदिउँला,’ उनले भने, ‘एमाले जतिको पार्टीले एउटा छाप्रा हाल्न नसक्ने कुरै भएन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.