बुथ कब्जा रोक्न सुरक्षाकर्मीको यूनिफाइड कमाण्डो परिचालन

डिसी नेपाल
४ मंसिर २०७९ ६:२५
68
Shares

काठमाडौं। गृहमन्त्रालयले दोलखा लगायतका केही जिल्लाको बुथ कब्जा रोक्न सुरक्षाकर्मीको संख्या बढाउनुका साथै विशेष कमाण्डो टोली परिचालन गरेको छ।

मन्त्रालयले मतदाताहरुलाई ढुक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गर्दै त्यस्ता मतदानस्थलमा विशेष कमाण्डो परिचालन गरेको जनाएको छ। बुथ कब्जामा बद्नाम रहेको जिल्ला दोलखामा शनिवार निर्वाचन आयोगका आयुक्तासहित सुरक्षाकर्मीका प्रमुखहरुले निरीक्षण गरेका थिए।

आयुक्त रामप्रसाद अधिकारी, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दोलखाका अति संवेदनशील केही मतदान स्थलको स्थलगत निरीक्षण गरेका छन्।

निरीक्षण गरिएका स्थानमै प्रहरी प्रधान कार्यालयले कमाण्डो टोली तैनाथ गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालय स्रोतका अनुसार नेपाली, सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचान गरिएको छ।

नेपाल प्रहरीले विशेष कार्यदलमा रहेका प्रहरीलाई परिचालन गरेको छ। प्रदेश १ देखि सातवटै प्रदेशमा प्रहरी कर्मचारी परिचालन गरिएको र आवश्यकता अनुसार यूनिफाईड कमाण्डो परिचालन गरिएको मन्त्रालयलले जनाएको छ।

‘चुनावका अप्रिय घट्ना नहोस भन्नेमा मन्त्रालय सचेत छ’, गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने। गृह मन्त्रालयले ३ हजार ८० अतिसंवेदनशील, ४ हजार ४ सय २० संवेदनशील र ३ हजार ३ सय ९१ लाई कम संवेदनशील मतदानस्थलको सूचीमा राखिएको छ।

त्यसमध्ये पनि १ सय २० मतदान केन्द्रमा बुथ कब्जा हुनसक्ने भन्दै सचेत रहन सुरक्षाकर्मीहरुलाई निर्दैशन दिएको छ। दोलखा लगायतका केही जिल्लामा अप्रिय घटना भए आधा घण्टाभित्र थप सुरक्षाकर्मीहरु पुग्नेगरी व्यवस्था गरिएको छ।

साथै त्यस्ता मतदान केन्द्रमा पहिलाको भन्दा दोब्बर सुरक्षाकर्मी परिचालन गरिएको र अपुग भए आधाघण्टाभित्रै थप मद्दती फोर्स जाने सुरक्षा अधिकारीहरुले बताएका छन्।

यसैबीच निर्वाचनको अघिल्लो साँझ रोल्पाको थवाङमा बहिस्कारको नारा लागेको छ। नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले निर्वाचनको पुर्व सन्ध्यामा रोल्पाको थवाङमा शनिबार साँझ मसाल जुलुससहित नारा लगाएका थिए।

मंसिर ४ को निर्वाचन खारेजी गरौ, नेकपा जिन्दाबाद जस्ता नारासहित उनिहरुले थवाङमा प्रर्दशन गरेका हुन्। गत स्थानीय निर्वाचनमा स्वतन्त्रका नाममा चुनावमा भाग लिएको सो दलले मंसिर ४ को निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको हो।

रोल्पाको थवाङ बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीको प्रभाब क्षेत्र मानिन्छ। रोल्पाका ८६ मध्ये ३१ मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका छन्। जिल्लाका ४२ मतदान स्थल संवेदनशील र १३ मतदान स्थल सामान्य रहेको छ।

यसअघि काठमाडौमा निर्वाचन आयोग अघि पनि निर्वाचन बहिष्कारको नारावाजी भएको थियो । मोहन वैद्यले नेतृत्व गरेको पार्टीका कार्यकर्ताले सो नारावाजी गरेका थिए। उनीहरुलाई तुरुन्तै प्रहरीले नियन्त्रणमा लिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.