सोलुखुम्बुमा छ प्रतिशत मत बदर
सोलुखुम्बु । सोलुखुम्बुमा यस पटक सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ४८ प्रतिशत मत खस्यो । यहाँ कूल मतदाता ८१ हजार पाँच सय दुई रहेका थिए ।
जिल्लामा खसेको ३९ हजार चार सय ३३ मतमध्ये चार हजार दुई सय ९० मत अर्थात् झण्डै छ प्रतिशत मत बदर भएको पाइएको छ । मत बदरको सङ्ख्या कम गर्नकै लागि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्राथमिकतामा राखेको थियो । मतदाता शिक्षाका लागि खटाइएका कर्मचारी गाउँगाउँ नपुग्दा मतदाता झुक्किएका पोङबोचे मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ङवाङ दोर्जी बाहिङ बताउँछन्।
जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई हजार दुई सय ६३, प्रदेशसभा ९१० मा एक हजार एक सय ६६ र प्रदेशसभा ९२० मा आठ सय ६१ मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कतिपय मतदाताले एउटै मतपत्रमा धेरै स्वस्तिक छाप लगाएको पाइएको छ । कतिपय मतपत्र खालीसमेत भेटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए ।
मत बदर कम गर्न प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतपत्रको छुट्टाछुट्टै व्यवस्था गरिएको भए पनि मतदानसम्बन्धी चेतनाको अभाव र गठबन्धनका कारण पनि मतदाता झुँक्किदा मत बदरको सङ्ख्या बढेको बताइएको छ । ग्रामीण भेगमा मात्र नभई सदरमुकाम क्षेत्रकै मतदाता पनि मतदान गर्ने विधिबारे कम ज्ञानकार रहेको पाइएको छ ।
यद्यपि जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रामनारायण शाह मतदाता शिक्षा प्रदान गर्ने जिम्मेवारी गाउँपालिकालाई दिइएको र आफूहरुले अनुगमन तथा समन्वय मात्र गरेको बताउँछन् । अनुगमनका क्रममा पनि मतदाता शिक्षा प्रभावकारी रुपमै प्रदान गरेको पाइएको निर्वाचन अधिकारी शाहले बताए ।







डिसी नेपाल








Facebook Comment