संसदीय दलमा देउवालाई पौडेल, सिंह, निधि र शशाङ्कको साथ

डिसी नेपाल
५ पुष २०७९ २०:२०
368
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोलि हुने संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार नेताको साथ रहेको कांग्रेस नेताले दाबी गरेका छन् ।

एक वर्ष अघि भएको पार्टीको १४ औँ महाधिवेशनमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापति देउवालाई साथ दिने बताइसकेका छन् । साथै वरिष्ठ नेता रामचन्द्र पौडेल भने संसदीय दलको नेतामा देउवाको उम्मेदवारीको प्रस्तावक नै रहेका छन् ।

यता कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा शशाङ्क कोइरालाले पनि आफू सभापति देउवाका साथमा रहेको बताएका छन् । उनले हालै एक सार्वजनिक कार्यक्रममा मुलुक हाँक्न अनुभवी तथा परिपक्व नेता आवश्यक रहेकाले देउवा नै संसदीय दलको नेता चुनिने बताएका हुन् ।

उनहरुको साथले सभापति देउवा संसदीय दलको नेता निर्वाचित हुने निश्चित भएको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए। उनले भने, “सभापति देउवा झण्डै दुई तिहाइ बहुमतको नजिकमा हुनुहुन्छ, उहाँलाई कांग्रेसका सांसदले प्रत्यक्ष भेटेर पनि मतदान गर्ने बचन दिनुभएको छ । संसदीय दलको अङ्क गणितमा देउवालाई करिब ७६ सांसदको समर्थन रहने देखिएको छ ।”

साथै नेपाली कांग्रेसमा पार्टीको सभापति नै संसदलीय दलको नेता हुने प्रचलन पनि रही आएको छ । विगतमा एकपटक पार्टी सभापति र संसदीय दलको नेता फरक फरक व्यक्ति हुँदा पार्टीमा विभाजन नै आएकाले यसखालको द्वन्द्व सिर्जना नहोस् भनेर पनि सभापतिनै संसदीय दलको नेता हुनुपर्ने धारणा अधिकांश सांसदको रहेको छ ।

कांग्रेस संसदीय दलको नेताको निर्वाचन भोलि बुधबार बिहान ८ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने भएको छ ।

दलको नेतामा सभापति देउवा र कांग्रेस महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.