डेढ–डेढ करोड पुरस्कार राशीका दुई टीभी रियालिटी शो ‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’को घोषणा

डिसी नेपाल
१३ पुष २०७९ १३:४३

काठमाडौँ। इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालमा महंगो धनराशीको टेलिभिजन रियालिटी शो हुने भएको छ।

काठमाडौंमा आयोजित समारोहमा ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को घोषणा गरिएको हो। यसअघि ‘मेरो डान्स कप र मेरो भ्वाइस कप यूएसए’को आयोजना गरिसकेको इन्ट्रा फाउन्डेसनले अब विश्वभर छरिएर रहेका नेपालीभाषीलाई समेटर दुई रियालिटी शोको आयोजना गर्न लागेको हो।

१६ वर्षमाथिका नेपालीभाषीले यो प्रतियोगितामा भाग लिन पाउने आयोजकले जनाएको छ। सहभागी हुन चाहनेले फाउण्डेसनको एप डाउनलोड गरेर आवेदन दिन सक्नेछन्। यी दुवै रियालिटी शोका विजेताले एक-एक करोड रुपैयाँ पुरस्कार पाउने जनाइएको छ। दुवै रियालिटी शोको फस्ट रनरअपले ३०-३० लाख र सेकेण्ड रनरअपले २०-२० लाख रुपैयाँ पुरस्कार नगद प्राप्त गर्नेछन्।

फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले भने, ‘हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ। हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति हो। फाउण्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो।’

घोषणा समारोहमा दुवै रियालिटी शोका निर्णायक मण्डलको परिचय गराइयो। ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अञ्जु पन्त, सुजाता बर्मा र पुष्पन प्रधान छन्।

यस्तै, ‘मेरो डान्स युनिभर्स’को निर्णायक मण्डलमा मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की र नरमन राई छन् । यी दुवै शोको निर्देशन एलिन श्रेष्ठले गर्नेछन्। पत्रकार सम्मेलनमा एलिनले भने, ‘हामीले यसपटक पनि नेपाली मौलिकता र संस्कृति झल्किने गीतसंगीतलाई नै महत्व दिनेछौं।’

फाउण्डेसनले नेपालबाहेक भारत, म्यानमार, थाइल्याण्ड, भुटान, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायतका देशबाट पनि नेपालीभाषी सहभागी हुने आशा राखेको छ। कार्यक्रममा संगीतकार रञ्जित गजमेर र अभिनेता राजेश हमालले फाउण्डेसनले आएका कामको प्रशंसा गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.