चालु खाता घाटा करिब ३८ अर्ब, शोधनान्तर बचतमा

डिसी नेपाल
२९ पुष २०७९ १४:१७
60
Shares

काठमाडौं। चालु आर्थिक वर्ष २०७९ को मङ्सिर मसान्तसम्म चालु खाता घाटा करिब रु ३८ अर्ब पुगेको छ। यही अवधिमा शोधनान्तर स्थिति भने बचतमा देखिएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा चालु खाता रु ३७ अर्ब ९१ करोडले घाटामा छ। गत आवको समीक्षा अवधिमा चालु खाता रु दुई खर्ब ९८ अर्ब ५१ करोडले घाटामा थियो।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५ दशमलव तीन प्रतिशतले कमी आई रू तीन अर्ब ४७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रू ६० करोड ४९ लाख पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रू चार अर्ब ६४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रू सात अर्ब सात करोड रहेको थियो।

राष्ट्र बैंकका अनुसार गत मङ्सिर मसान्तसम्ममा शोधनान्तर स्थिति रू ५ अर्ब ८७ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ९५ अर्बले घाटामा थियो। गत असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति पाँच महिना अवधिमा छ दशमलव तीन प्रतिशतले बढेर मङ्सिर मसान्तसम्ममा रु १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको छ।

गत मङ्सिर मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव नौ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.