माइकलको बायोपिकमा माइकल ज्याक्सन बन्दै जाफर
लसएञ्जल्स। आफ्नो गीतले विश्वलाई नचाउने प्रख्यात पप गायक माइकल ज्याक्सनलाई कुनै पनि परिचयको आवश्यकता छैन। नृत्य र गायनमा अब्बल ज्याक्सनलाई उनको गुणका कारण विश्वले सम्झन्छन् । अहिले यिनै ‘किङ अफ पप’को बायोपिक ‘माइकल’ बनाउने तयारी भइरहेको छ।
फिल्ममा उनका २६ वर्षे भतिजा जाफर ज्याक्सनले काका माइकलको भूमिकामा अभिनय गर्नेछन्। एन्टोनी फुक्वाको निर्देशन रहने फिल्मका लागि लायन्स गेटले सोमबार कास्टिङ फाइनल गरेको छ । फिल्मको निर्माण ग्राहम किङले गर्नेछन्।
‘मैले दुई वर्षअघि जाफरलाई भेटेको थिएँ। उनले जसरी माइकलको व्यक्तित्वलाई व्यवस्थित रुपले बताए, त्यही समयदेखि म उनीबाट प्रभावित थिएँ। यो यति शक्तिशाली थियो कि विश्वभर खोजी गर्दा पनि यो प्रष्ट थियो कि यो भूमिका निभाउने व्यक्ति उनी एकमात्र हुनसक्छन्’, ग्राहमले भनेका छन्।
इन्स्टाग्राममा कास्टको घोषणा गर्दै जाफरको एक श्यामश्वेत तस्बिर पनि साझा गरिएको छ, जसमा उनी आफ्नो भूमिकाका लागि पूर्ण रुपमा डुबेको देख्न सकिन्छ।
जाफरले पनि आफ्नो ट्वीटर हेण्डलमा काकाको भूमिका निभाउने अवसर दिएकोमा आभार व्यक्त गरेका छन् । ‘म मेरो काका माइकलको जीवनको कथालाई पर्दामा ल्याउनका लागि विनम्र र सम्मानित महशुस गरिरहेको छु । म तपाईंहरुसँग चाँडै भेट्नेछु’, उनले ट्वीटेका छन्।







डिसी नेपाल







Facebook Comment