फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’ मा नाजिर हुसेन र मलिका महत अनुबन्धित
काठमाडौंँ । सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’ का लागि अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महत अनुबन्धित भएका छन्।
फिल्मको मुख्य भूमिकाको लागि निर्माण टिमले यी कलाकारसँग सम्झौता गरेको हो। निर्माण युनिटले फिल्मको पोष्टर सार्वजनिक गर्दै कलाकारमा भित्रिएको जनाकारी दिएका छन्।
दुई च्याप्टरमा निर्माण हुने फिल्मका लागि केही अगाडि अभिनेता सौगात मल्ल अनुबन्धित भएका थिए। सौगात, नाजिर र मलिकाको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप बलियो बनेको छ।
यी तीनै जना कलाकारले पहिलो पटक एक अर्कासँग काम गर्न लागेका हुन्। तर, मलिका फिल्ममा कसको जोडी बनेर देखिनेछिन्, त्यो भने खुलाइएको छैन। फिल्ममा सौगात र नाजिर एक्सन भूमिकामा देखिनेछन्।
फिल्मको कथा निर्देशक स्वयंको हो। उनले दुवै च्याप्टरको कथा तयार पारिसकेका छन्। फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन्। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुनेछ। फिल्मको छायांकन राजेश श्रेष्ठ हुन्।
फिल्मका लागि अन्य कलाकारहरु पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताए।
फिल्ममा नेपालीसँगै भारतका केही नाम चलेका कलाकारको पनि अभिनय रहनेछ। चाँडै भारतीय कलाकारसँग सम्झौता गर्ने तयारीमा निर्माण टिम छ। आगामी बैशाख अन्तिमबाट सुटिङ सुरु गर्न लागिएको फिल्मको शीर्षक हिन्दु धर्मका सप्तऋषि मध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको हो।







डिसी नेपाल







Facebook Comment