हिमपातले चीनबाट ल्याइएको सामग्री हिल्सामै रोकियो

हेमन्त केसी
२३ माघ २०७९ १७:१५
12
Shares

सुर्खेत । हुम्लाको नारा लेकमा भारी हिमपात भएपछि चीनबाट आएको सामग्री हिल्सामै रोकिएको छ । चीनले एक तर्फी रुपमा खुलाएको उक्त नाकाबाट ल्याइएको सामग्री हिमपातले नारा लेकबाट आउने बाटो बन्द भएपछि सामान ल्याउन नसकिएको हो ।

वैशाखअघि उक्त लेकबाट सामान ल्याउन सक्ने अवस्था नरहेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए । यारी लेकको उचाई चार हजार ६ सय मिटर रहेको छ । हिल्साबाट सामग्री बुझे पनि सिमकोट तर्फ ल्याउन नपाएको बताइएको छ ।

पहिलो लटमा हिल्सा भित्रिएको खाद्यान्न र लत्ता–कपडा सदरमुुकाम सिमकोट आए पनि बिकास निर्माणका सामान भने सबै हिल्सामै रोकिएको हो। उक्त सामानलाई व्यापारीले हिल्सामा पालले छोपेर राखिएको छ। हिल्सामा रहेको सामानमा एघार हजार बोरा सिमेन्ट र तीन गाडी सरिया रहेको छ।

अब नारा लेकको सडक सुचारु नभएसम्म उक्त सामान हिल्सामै रोकिनेछ। नारा लेकमा तीन देखि चार फिट हिउँ जमेको कारण उक्त सामान वैशाखअगाडि ल्याउन सम्भव देखिएको छैन। पुस १३ गते कोरानापछि चीनले हिल्सा नाकाबाट पहिलो पटक सामान आयात गर्न एकतर्फी नाका खुलाएको थियो।

पटक–पटक गरी चीनले ३४ गाडी खाद्यान्न, लत्ताकपडा र विकास निर्माणका सामग्री नेपाल पठाएको थियो। यसबाट तीस लाखभन्दा बढीको सामान चीनबाट नेपाल आयात भएको थियो। व्यापारीलाई सरिया र छड नबिग्रिए पनि सिमेन्ट भने चिसोले बिग्रिने चिन्ता थपिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.