कञ्चनपुर औद्योगिक ‘हब’का रुपमा विकास हुन्छ : उद्योगमन्त्री भण्डारी
दोधारा चाँदनी। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुर जिल्ला औद्योगिक ‘हब’का रुपमा विकास हुने बताएका छन्।
कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको आज स्थलगत अवलोकन गर्दै उहाँले औद्योगिक क्षेत्र निमार्णको काम दु्रत गतिमा अगाडि बढेकाले केही समयपछि कञ्चनपुर औद्योगिक हबका रुपमा विकास हुन लागेको बताए।
“छेला औद्योगिक क्षेत्रको कामलाई प्राथमिकतामा राखेर अगाडि बढाएका छौँ”, मन्त्री भण्डारीले भने, “दुई/तीन दिनभित्रै यहाँ कार्यालय स्थापना गर्ने तयारीमा छौँ।” उनले दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरगाह निर्माण पनि अन्तिम चरणमा पुगेको बताए।
“हाम्रो सुक्खा बन्दरगाहदेखि भारतको औद्योगिक सहर ८५ किलोमिटरको दूरीमा मात्रै छ”, उनले भने, “व्यापार पारवहनका हिसाबले यो सुक्खा बन्दरगाह महत्वपूर्ण छ।” गत सोमबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुक्खा बन्दरगाहको निरीक्षण गर्नुभएको थियो।
दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास भएको दुई वर्ष पुग्दासमेत भौतिक पूर्वाधार निमार्ण हुन सकेको छैन। अहिले डिभिजन वन कार्यालय कञ्चनपुरले औद्योगिक क्षेत्रमा रुख छपानको काम गरिरहेको छ। औद्योगिक क्षेत्र निर्माणका लागि रु नौ अर्ब खर्च हुने अनुमान छ।
उद्योग स्थापना भएमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी २२ हजार व्यक्तिले रोजगारी पाउनेछन्। एक सय औद्योगिक प्लट रहने दैजी–छेला औद्योगिक क्षेत्रमा साना उद्योगका लागि २३, मझौला उद्योगका लागि ४४ र ठूला उद्योगका लागि ३३ प्लट छुट्याइएको छ। यो औद्योगिक क्षेत्रको निर्माण सम्पन्न भएर उद्योग सञ्चालनमा आए सुदूरपश्चिमकै आर्थिक विकासले फड्को मार्ने अपेक्षा गरिएको छ।







डिसी नेपाल







Facebook Comment