ओलीको प्रस्ताव सुन्ने तीन दलको निर्णय, माधव नेपाल राष्ट्रपतिको उम्मेदवार बन्न तयार!

डिसी नेपाल
११ फागुन २०७९ २१:३५
944
Shares

काठमाडौं। राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल गर्न बसेको तीन दलको बैठकले राष्ट्रपतिको उम्मेदवारका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको ठोस प्रस्ताव सुन्ने निर्णय गरेको छ। त्यसका लागि तीन दलले शुक्रबार अध्यक्ष ओलीसँग संवाद गर्ने भएका छन्।

बिहीबार बसेको माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीको बैठकले राष्ट्रपतिको उम्मेदवारका विषयमा एमाले अध्यक्ष ओलीको ठोस प्रस्ताव सुन्ने निर्णय गरेको हो।

यसअघि ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको रुपमा अघि सार्ने बताएका थिए। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा पनि ओलीले राष्ट्रपतिमा माधव नेपालको नाम अगाडि सार्ने बताएका थिए।

आजको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूले चुनाव जित्ने आधार तय भए राष्ट्रपतिको रुपमा आफ्नो नाम अगाडि बढाउन प्रस्ताव गरेका थिए। बैठकमा सहभागी एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले आफ्नो पार्टीले अध्यक्ष नेपालको नाम राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको जानकारी दिए।

अध्यक्ष नेपालले आफ्नो नाममा सहमति हुन्छ भने र जित्ने आधार भए आफू राष्ट्रपतिका लागि तयार रहेको जनाएका थिए। अध्यक्ष नेपाल राष्ट्रपतिका लागि तयार भएपछि एमाले अध्यक्ष ओलीको ठोस प्रस्ताव सुन्ने निर्णय बैठकले गरेको हो।

पुस १० मा राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादीले लिने सहमति भएको थियो। तर अन्तिममा माओवादीले एमालेलाई राष्ट्रपति दिन नसकिने बताएपछि अध्यक्ष ओलीले राष्ट्रपतिमा माधव नेपालको नाम प्रस्ताव गरेका थिए।

उता माओवादी केन्द्रले उपराष्ट्रपति जनता समाजवादीलाई दिन सहमति जनाएको छ। माधव नेपालले राष्ट्रपति बन्न इच्छा देखाएपछि हालको गठबन्धनमा एकीकृत समाजवादी थप हुँदा सजिलै चुनाव जित्न सकिने आँकलन नेताहरुले गरेका छन्।

तर, माधव नेपाल राष्ट्रपतिको उम्मेदवार बनेको अवस्थामा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले भने भोट नदिने संकेत गरेका छन्।
मधेसमा जनमत, नागरिक उन्मुक्ति र लोसपासहितको मोर्चा बनाएर कांग्रेस उम्मेदवारलाई मत दिने तयारी भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.