अवैध आयातले व्यवसाय धराशायी भएको गुनासो

डिसी नेपाल
१४ फागुन २०७९ १४:०२
68
Shares

राँझा। भारतबाट हुने अवैध आयातका कारण नेपालगञ्जका उद्योग व्यवसाय धराशायी हुँदै गएको व्यवसायीले गुनासो गरेका छन्।

सीमावर्ती भारतीय नाकाबाट हुने तस्करी र अवैध आयातका कारण नेपालगञ्ज क्षेत्रको व्यापार व्यवसाय धराशायी बन्न पुगेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए।

सरकारी निकायले नाकामा कडाइ नगर्दा दैनिकरुपमा तस्करी भइरहेकाले स्थानीय उत्पादन र व्यापारले बजार नपाएको उनको गुनासो छ। अवैध आयात नरोकिएमा उद्योगी व्यवसायी पलायन भई नेपालगञ्ज क्षेत्र आर्थिक सङ्कटमा फस्नसक्ने उनले बताए।

नेपालगञ्जका अगुवा व्यापारी कृष्णप्रसाद श्रेष्ठले अहिलेको प्रतिकूल अवस्थामा पनि उद्योगी व्यवसायीले सङ्घर्षका साथ उद्योग व्यवसाय सञ्चालन गरेको जनाउँदै सरकारले राहतको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

उनले निजी क्षेत्रको समस्या समाधान गरेर आर्थिक अवस्था सुदृढ गर्नेतर्फ अग्रसरता नदेखाए अवस्था भयावह हुने बताए। आर्थिक विकासका लागि उद्योग, कलकारखाना र व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै उनले अवैध आयात र तस्करीलाई निरुत्साहित पार्न माग गरे।

भारतसँग जोडिएको बाँकेमा छोटी भन्सार कार्यालय सञ्चालन नहुँदा ग्रामीण क्षेत्रबाट दैनिकरुपमा हुने तस्करीले नेपालगञ्जको व्यापार व्यवसायलाई समस्यामा पारेको उनको भनाइ छ।

बाँकेको भारतसँग जोडिएको ६५ किमीको खुला सीमानाकामा हाल एउटा मात्र भन्सार कार्यालय छ। ग्रामीण नाकामा रहेका सात छोटी भन्सार कार्यालय करिब दुई दशकअघि बन्द गरिएकामा हालसम्म पुनःस्थापना हुन सकेका छैनन्।

छोटी भन्सार कार्यालय नहुँदा ग्रामीण नाकाबाट ठूलो परिमाणमा विभिन्न सामग्री राजस्व छलेर खुलारूपमा भारतबाट भित्रिने गरेकाले राजस्वको लक्ष्य पूरा गर्न समस्या भइरहेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताए।

उनका अनुसार केही वर्षयता छोटी भन्सार बन्द गरिएका नाकाबाट खुलारूपमा चोरी पैठारी बढेका कारण राजस्व सङ्कलन घटेको छ। – रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.