राष्ट्रपति निर्वाचन : दोधारमा रास्वपा
काठमाडौं। गृहमन्त्री दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार नभएपछि माघ ३ मा सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोे सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले तत्काल सरकारबाट नबाहिरिने निर्णय गर्यो।
सोमबार नै नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिसकेको छ भने शनिबार समर्थन फिर्ता लिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समेत सरकारबाट बाहिरी सकेको छ ।
सर्वोच्च अदालतले नागरिकता खारेज गरिदिएपछि सांसद पदसमेत गुमाएका रास्वपा अध्यक्ष रवि लामिछानेले पुन नागरिकता प्राप्तिपछि गृहमन्त्रालयसहित उपप्रधानमन्त्री बन्न निकै कोशिश गरेका थिए।
तर, त्यसमा प्रधानमन्त्री प्रचण्ड तयार नभएपछि रास्वपा माघ ३ गते सरकारबाट बाहिरिएको थियो। तर उसले सरकारलाई दिएको समर्थन भने कायम नै राखेको छ।
रास्वपाले फागुन २६ मा हुने राष्ट्रपति निर्वाचनमा कुन उम्मेदवारलाई मत दिने भन्ने निर्णयसमेत गरेको छैन। राष्ट्रपतिको निर्वाचन हुने दिन विहान कसलाई मत दिने भन्ने निर्णय गरिने सो पार्टीका उपाध्यक्ष एवं संसदीय दलका नेता डिसी अर्याल बताउँछन्।
‘नेपालको राजनीतिकमा कतिबेला के निर्णय हुन्छ थाहा नै हुँदैन,’ अर्यालले डिसी नेपालसँग भने, ‘२६ गतेसम्म एउटा मात्रै उम्मेदवार हुने संभावनालाई नकार्न सकिँदैन। त्यसैले हामीले अहिले हतारमा निर्णय नगरेका हौं।’ तर २६ गते अगाडि पार्टी एउटा निर्णयमा पुग्ने उनको भनाइ छ।
सरकारबाट बाहिरिएको रास्वपाका अध्यक्ष रवि लामिछानेले यो बीचमा प्रधानमन्त्रीसँग निकै पटक छलफल गरिसकेका छन्। रास्वपा पुन गृहमन्त्रालयसहित सरकारमा सहभागी हुन चाहन्छ।
आगामी बैशाख १० मा हुने उपनिर्वाचनमा पार्टीले रविलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। आफू पुन जितेर आउने र सरकारमा सहभागी हुने रविको चाहनाले गर्दा सरकारसँगको सम्बन्धलाई सुमधुर बनाइ राख्ने रास्वपाको रणनीति रहेको एक नेताले बताए। प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा गृहसहित शिक्षा, श्रम र स्वास्थ्य राज्यमन्त्रीसहित सरकारमा सहभागी भएको थियो।
सर्वोच्चले तत्कालीन गृहमन्त्रीसमेत रहेका लामिछानेको नागरिकता खारेज गरिदिएपछि माघ ३ गते रास्वपा सरकारबाट बाहिरिएको थियो।
यता, रास्वपाका सभापति रवि लामिछाने केही दिन यता माओवादी नेताहरुसँगको भेटवार्तालाई तीव्रता दिइरहेका छन्। उनले केही दिन अगाडि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष कृष्णबहादुर महरालगायत अन्य शीर्ष नेतासँग भेटवार्ता गरेका थिए। सरकारमा सहभागीता र कतिपय वैयक्तिक विषयमा समेत उनले नेताहरुसँग भेटवार्ता बढाएको माओवादी निकट स्रोत बताउँछ।
लामिछाने पछिल्लो समय बैशाख १० गते चितवन २ मा हुने उपनिर्वाचनका लागि सरकारको नेतृत्व गरेको माओवादी नेताहरुसँग भेटवार्ता बढाउँदै आफूलाई उम्मेदवारीबाट बञ्चित गर्न सकिने भन्दै चिन्ता ब्त्तयक्त गरेको स्रोतको दाबी छ।
स्रोतका अनुसार उनले सरकारमा सहभागिताका लागि ससम्मान चितवन २ मा उम्मेदवारी दिने वातावरण निर्माण गरिदिन प्रधानमन्त्री समक्ष आग्रह गरेका छन्। आगामी उपनिर्वाचनमा आफ्नो उम्मेदवारीमा कानूनी रुपमा रोकावट आउने अवस्था नरहने ग्यारेन्टी भए सरकारमा सहभागी हुने प्रतिवद्धता उनले ब्यक्त गरेका छन्।
सभापति लामिछानेको दोहोरो पासपोर्टको विषय उपनिर्वाचनको नजिकै बल्झिएर निर्वाचनमा सहभागी हुन नपाइने होकी भन्ने चिन्ता छ। सुरुमा गृह मन्त्रालयको दाबेदारी गरेको रास्वपा पछिल्लो समय लचक भएर अन्य मन्त्रालयमा समेत चित्त बुझाउन तयार रहेको स्रोतले जनाएको छ।







डिसी नेपाल








Facebook Comment