प्रतिपक्ष भारी, सत्तापक्ष खाली
काठमाडौं। सत्तासमीकरण बदलिएसँगै संसद बैठकमा सरकार र प्रतिपक्षीको अदल बदल भएको छ। अबको संसद बैठकमा सत्ता पक्षभन्दा प्रतिपक्षी सांसदको संख्या बढी हुने देखिएको छ।
गएको पस १० गते प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै सहकार्य गरेको एमाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएर सरकारबाट बाहिरि सकेको छ।
संसदमा ७९ सिट संख्या भएको एमाले आजको संसद बैठकमा प्रतिपक्षीको बेञ्चमा बस्ने जनाएको छ। केही दिन अगाडिसम्म सत्तासीन दलको रुपमा रहेको एमाले आजदेखि सदनको बैठकमा प्रतिपक्षीको भूमिकामा देखिने भएको हो।
प्रचण्ड सरकारलाई समर्थन गर्दै करिब दुई महिना सत्ता यात्रा गरेको राप्रपा समेत अब प्रतिपक्षी भएको छ। राप्रपालेसमेत सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिसकेको छ। अबदेखि १४ सांसद रहेको राप्रपाको भूमिका सदनमा प्रतिपक्षीको रुपमा देखिने छ।
यस्तै रास्वपा समेत सरकारमा सहभागी छैन। केही समय अगाडि सरकारबाट बाहिरिएको रास्वपा पनि सत्ता पक्षको बेञ्चभन्दा बाहिरै रहने देखिएको छ। यद्यपि रास्वपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ।
२७५ सदस्यीय प्रतिनिधिसभामा माओवादीका ३२ जन सांसद सत्तापक्ष रहेका छन्। ८९ सांसद रहेको कांग्रेसले पनि पछिल्लो समय सत्तारुढ समीकरणमा सहभागी भएपनि सरकारमा सहभागीता नहुँदा प्रतिपक्षकै बेञ्चमा बस्ने जनाएको छ।
यस्तै ७९ सांसद रहेको एमाले भर्खरै सत्तारुढ माओवादी केन्द्रबाट धोका भएको निष्कर्ष निकालेको छ। राष्ट्रपतिको उम्मेदवरालाई सहयोग नगरेरै नयाँ सत्ता समीकरण तय गरेको भन्दै प्रधानमन्त्री प्रचण्डप्रति असन्तुष्ट रहेको एमाले प्रतिपक्षीको भूमिका संसदमा निर्वाह गर्ने बताएको छ।
संसदमा हाल १९ सांसदहित उपस्थिति रहेको रास्वपा सरकारमा सहभागी नरहेपनि समर्थन यथावत नै राखेको छ। तर, सत्तापक्षको कुर्सीमा नबसेरै प्रतिपक्षतर्फ बसेको छ।
यस्तै संसदमा ६ सिटसहित प्रतिनिधित्व गरेको जनमत पार्टी सत्तापक्षको बेञ्चमा बस्ने छ। जनमत पार्टीका नेता अब्दुल खानले सरकारमा खानेपानी मन्त्रालय सम्हालेका छन्।
नागरिक उन्मुक्ति पार्टी सरकारलाई समर्थन दिएपनि सरकारमा सहभागी भएको छैन। हालसम्म्का बैठकमा प्रतिपक्षकै बेञ्चमा बस्दै आएको उक्त पार्टी पछिल्लो समय सरकारमा सहभागीताको तयारीमा रहेको बताइन्छ। तर, हालसम्म प्रतिपक्षकै बेञ्चमा आसिन हुँदै आएको छ।
माधव नेपालको संसदीय हैसियत स्वतन्त्र कायम गरेको एकीकृत समाजवादीसँग दश सांसद छन्। अघिल्लो एमाले र माओवादीबीच गठबन्धन कायम रहेको बखत प्रतिक्षकै बेञ्चमा रहेको एकीकृत समाजवादी अब सरकारमा सहभागीता जनाएपछि सत्तापक्षकै कुर्सीमा बस्ने छ। हालसम्म प्रतिपक्षी बेञ्चमा नै उपस्थिति देखाउने छ।
१२ सांसदसहित संसदमा उपस्थिति रहेको उपेन्द्र यादव नेतृत्वको जसपा पनि सत्तासीन दलको रुपमा सदनमा दर्शाएको छैन।
हालसम्म प्रतिपक्षकै बेञ्चमा बस्दै आएको जसपा पछिल्लो सत्ता गठबन्धनमा सहभागी भएको छ तर सरकारमा सहभागी नहोउञ्जेल प्रतिपक्षकै बेञ्चमा बस्ने छ। कांग्रेस-एमाले दुवैले प्रतिपक्ष बेञ्च रोजेपछि संसद बैठक चैत्र ५ गतेसम्मका लागि स्थगित भएको छ।







डिसी नेपाल








Facebook Comment